१४ वर्षीया बालिकालाई बालविवाह गरी भारत पुर्याएको आरोपमा पञ्हरीले बिहार राज्य सुपौल जिल्लाको बाइसी ग्राम पञ्चायत-४ का २५ वर्षीय रामकुमार मुखियालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
प्रहरीले आरोपितलाई नेपाल-भारत सीमा क्षेत्रमा पर्ने कोशी गाँउपालिका-८ भण्टाबारीबाट गिरफ्तार गरेको हो ।
मुखियाको घरबाट भागेर नेपाल आउने क्रममा मुखियाले ती बालिकालाई भाण्टाबारीमा फेला पारी बलपूर्वक पुनः भारत लैजान खोजेका थिए ।
सोही क्रममा नेपाल प्रहरीको गस्ती टोलीले फेला पारी भारतीय नागरिक मुखियालाई गिरफ्तार गरेको सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
गस्ती टोलीले बालिकालाई सोधपुछ गर्ने क्रममा बालिका भारत फर्कन नचाहेको र मुखियासँग विवाह नगरेको बताएपछि उनलाई गिरफ्तार गरिएको डिएसपी चिमोरियाले बताए ।
सप्तरीबाट गत जेठ ६ गते बालविवाह गरी मुखियाले बालिकालाई भारत पुर्याएका थिए । प्रहरीले आरोपितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको छ । पीडित बालिकालाई इनरूवा अस्पतालको सेफ हाउसमा राखिएको छ ।