संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनको बैठकले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान मस्यौदा समिति गठन गरेको छ । काठमाडौँको तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा भदौ १९ गते बसेको बैठकले सो समिति गठन गरेको हो ।
समितिमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल, सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा, सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनलगायत सदस्य छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका प्रतिनिधिहरू सम्मिलित समिति बनाइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताएका छन् ।
यसैगरी बैठकले ०७३ असोज ३ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन गर्ने र मधेस आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झानामा असोज ४ गते श्रद्धान्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।