राष्ट्रिय मानव अधिकार आयोगले कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानुनी सजायको माग गर्दै अनशनरत आमा गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार गरेको छ ।
आयोगले जेठ २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ १५ गतेदेखि वीर अस्पतालमा पुनःअनसन बस्दा र पटकपटकको अनसनका कारण उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
आयोगले सर्वोच्च अदालतको आदेशानुसार दोषीउपर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन र निजको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भर्र्ई निजको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।
साथै आरोपित व्यक्तिलाई कानुनी कारबाही गर्ने सम्बन्धमा के–कसो भएको छ भनी त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत जेठ २५ गते नै पत्राचार गरेको आयोगले जनाएको छ ।
गङ्गामायाको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगका सदस्य प्रकाश वस्ती र गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले आज पुनः वीर अस्पतालमा पुगेर अनुगमन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
अनुगमनका क्रममा गङ्गामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देखिएको शरीरका विभिन्न भाग सुन्निएको तथा एउटा खुट्टा नचल्ने अवस्थामा रहेको आयोगले जनाएको छ ।