कोहलपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि माथि सुझाव सङ्कलन गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा इन्सेक नेपालगञ्ज र उद्योग वाणिज्य सङ्घ कोहलपुरको सहकार्यमा जेठ २५ गते आयोजित उपभोक्ताको अधिकार, दायित्व र बजार अनुगमन कार्यविधि विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले सुझाव सङ्कलन गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले उपभोक्ताका हितलाई संविधानले सुनिश्चित गरेको बताउँदै त्यस अन्तर्गत पनि थुप्रै कानुनहरू रहेको बताए । अनैतिक तरिकाले कमाई गर्ने प्रवृत्तिले उपभोक्ता ठगिने गरेकाले त्यस्तालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा उनको जोड छ ।
कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारूले कार्यविधि माथि सुझाव सङ्कलन पश्चात अन्तिम रूप दिइने बताइन् ।
इन्सेक नेपालगञ्जका संयोजक भोला महतले गुणस्तरीय सेवा तथा वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित हुने गरी कानुन निर्माण गरी कार्यान्वयन गर्न सहज बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यविधि तयार गरिरहेका उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतमले कार्यविधिमा भएका प्रावधान र प्रक्रियाका बारेमा सहजीकरण गर्दै उपभोक्ताका अधिकारका बारेमा जानकारी गराएका थिए ।

स्थानीय तहलाई उपभोक्ता हित संरक्षणका लागि कानुन बनाउन अधिकार दिएको छ । स्थानीय तह गठन भएको एक वर्षपछि जिल्लामा रहेका आठ ओटा स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाले सबैभन्दा पहिले उपभोक्ता हित संरक्षण समिति गठन गरी कार्यविधि तयार गरी सुझाव सङ्कलन गरेको हो ।