सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको जेठ २३ गते १३ वर्ष पूरा हुँदा पनि पीडितहरूले न्याय नपाएको प्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत शान्ति सम्झौतालगायत अन्य कैयौँ राजनीतिक सहमतिहरूमा बाँदरमुढेलगायतका द्वन्द्वपीडितहरूको न्यायका सम्बन्धमा चर्चा गरिएको भए पनि न्याय र परिपूरणबिना यी १३ वर्षहरू बितेका छन् ।
तत्कालीन कल्याणपुर गाविस–१ र ४ को सीमानामा पर्ने बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ साल जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो ।
घटनामा ७२ जना गम्भीर घाइते भएका थिए । यी घाइतेमध्ये चार जनाको घटनाको केही समयपछि मृत्यु भएको थियो । यसरी घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ । घाइतेमध्ये १० जना अहिले पनि औषधि सेवन गर्नुपर्ने अवस्थामा रहेको पीडितमध्येका एक कृष्ण अधिकारीले जानकारी दिए ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनको पूर्णरूपमा उल्लङ्घन भएका यस्ता घटनाहरूको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने विषयमा न त सङ्क्रमणकालीन न्यायका संयन्त्रले तदारुकता देखाएको पाइन्छ न त सरकारले नै !’–इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जेठ २३ गते जारी विज्ञप्तिमा भनिएको छ ।
‘यहाँ स्मरण गर्नुपर्ने विषय के हो भने घटनालगत्तै २०६२ जेठ २३ गते नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने उल्लेख थियो । यसैगरी चुनावी सभाका लागि २०७४ मङ्सिर १७ गते बाँदरमुढे पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र बाँदरमुढे घटनाका केही पीडितबीच पीडितलाई रोजगारी, जीवनवृत्ति, घाइतेको उपचार खर्च व्यहोर्ने, पीडितको सम्झनामा स्मारक बनाउनेलगायतका सहमति भएको थियो । तर बाँदरमुढे घटना पीडित समितिले प्रचण्ड र केही पीडितकाबीच भएको भनिएको सम्झौताप्रति प्रश्न उठाउँदै पीडितको जीउज्यानको सुरक्षा, घटनाको दोषीलाई कारबाही आफ्नो मुख्य माग भएको जनायो ।’–विज्ञप्तिमा उल्लेख छ ।
द्वन्द्वकालीन समयमा भएका यस्ता जघन्य अपराधका घटनामा न्याय निरूपणको कुनै विकल्प नभएको पनि इन्सेकले जनाएको छ ।