ठुलीभेरी नगरपालिका-९ स्थित भेत्तीडाँडामा प्रहरीको स्कर्टिङ टोली माथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जेठ १ गते आक्रमण गरेको प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अजित विष्टको नेतृत्वमा सात/आठ जनाको समूहमा आएका उक्त पार्टीका कार्यकर्ताले प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि ढुङ्गा प्रहार गरी प्रहरीको नियन्त्रणमा रहेका सागर शाहीलाई भगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
आक्रमणबाट हवल्दार धनसिंहको दाहिने हातमा र जवान जयलालको टाउकोमा चोट लागेको छ । उनीहरूको उपचार दुनैस्थित जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
मुड्केचुला गाउँपालिका-२ निवासी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा भेत्तीडाँडाबाट प्रहरीमाथि आक्रमण गरेर शाहीलाई भगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शर्माले बताए । नेपाल बन्दको क्रममा शाहीलाई प्रहरीले वैशाख ३० गते गिरफ्तार गरेको थियो ।
प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई भगाएको आरोपमा प्रहरीले सुर्खेत तातोपानीका ३२ वर्षीय नरबहादुर राना, सुर्खेत अवलचिङका २९ वर्षीय सन्तोष खड्का र त्रिपुरासुन्दरी नपा-२ निवासी नयाँ शक्ति नेपाल डोल्पाका अध्यक्ष ३९ वर्षीय पुष्प बुढालाई जेठ १ गते गिरफ्तार गरेको छ । पुष्प बुढाले आफूलाई नयाँ शक्ति नेपालको जिल्ला अध्यक्ष भनेता पनि नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।