INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो हतियार प्रहारबाट पत्नी घाइते, आरोपित गिरफ्तार

ठुलीभेरी नपा-७ जुफालकी ३२ वर्षीया बिसरा रोकायलाई छोरा नजन्माएको आरोपमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको घटनाका आरोपित ४१ वर्षीय पति कुमार शाहीलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पतिले छोरा नजन्माउनेलाई घरमा राख्दिन घरबाट भागिहाल भन्दै वैशाख २१ गते धारिलो हतियारले दायाँ कन्चटमा प्रहार गरेको पीडितले आरोप लगाइन् । कानुनी कारबाहीका लागि घटनाका आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

घटनापछि केही समय बेहोस भएकी बिसरालाई छिमेकीको सहयोगमा जुफालस्थित स्थानीय मेडिकलमा उपचार गराइएको स्थानीयबासी विष्णु केसीले बताए । उनको दायाँ आँखामाथि चोट लागेको छ । चोट लागेको ठाउँमा तीनओटा टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए ।

पीडितले घटनामा संलग्न पतिलाई कारबाहीको मागगर्दै विमानस्थलस्थित प्रहरी चौकी जुफालमा वैशाख २१ गते उजुरी दिएकी थिइन् ।

आफूलाई यस अघिपनि दुई पटक मार्ने उद्धेश्यले बियरको बोतल र चिरपट दाउराले कुटपिट गरी निधारको बायाँ भाग र टाउकोको पछाडि भागमा गहिरो चोट लागेको पीडितले गुनासो गरिन् ।

घटनापछि प्रहरी चौकीमा गएर छलफल गर्दा पहिलो पटक हो घरपरिवारको झगडा भन्दै पञ्च भद्रभलादमी सबैले मिलेर बस्न दबाव दिएपछि निवेदन फिर्ता लिएर घर फिर्ता भएको भएपनि पतिको बानी ब्यवहारमा सुधार नआएको पीडितले दुखेसो पोखिन् ।

प्रहरी चौकी जुफालमा पटकपटक छलफल गराई मिलापत्र गरी घर फर्केपछि पुनः पत्नीलाई कुटपिट गरेपछि कानुनी कारबाहीका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शर्माले बताए ।

अन्य

भिडियो