INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका लागि मेडिकल पुगेकी बिरामीको मृत्यु, मेडिकल सञ्चालक र डक्टर गिरफ्तार

तुलसीपुर उपमनपा-७ की ४० वर्षीया प्रेमा कुमालको उपचारको क्रममा मृत्यु भएपछि ज्योति मेडिकल तुलसीपुरका सञ्चालक तुलसीपुर उपमनपा-५ का ५० वर्षीय विनोद धौलाकोटी र उपचारमा संलग्न ३६ वर्षीय डक्टर प्रकाश नेपालीलाई प्रहरीले वैशाख १९ गते गिरफ्तार गरेको छ ।

किनमेलकालागि बजार आएकी प्रेमाको पेट अचानक दुखेपछि उपचारका लागि मेडिकलमा पुगेकी थिइन् । ‘ग्याष्ट्रिक’ बढेको भन्दै ज्योति मेडिकलका डक्टर नेपालीले पेन्टोप्राजोल इन्जेक्सन दिए लगत्तै अचेत भएको र तत्काल नजिकै रहेको राप्ती अञ्चल अस्पतालमा पुर्‍याउँदा डक्टरहरूले प्रेमालाई मृत घोषणा गरेको मृतककी बुहारी ललिता वलीले जानकारी दिइन ।

पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन, क्षतिपूर्ति र दोषीलाई कारबाही नगर्दासम्म शव नबुझ्ने भन्दै ज्योति मेडिकलमा तालाबन्दी गरेका छन् ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए । मृतकका आफन्तले शव नबुझेपछि पोष्टमार्टम समेत हुन सकेको छैन ।

अन्य

भिडियो