नेपालमा मे ४, २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख गरिएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा इन्सेक अनलाइनसँग कुरा गर्दै अध्यक्ष आचार्यले सो कुरा बताएका हुन् ।
नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको धम्की र दुर्व्यवहारका १९ वटा घटना छन् भने पत्रकारमाथिको आक्रमणका १७ वटा र पत्रकार गिरफ्तारका १६ वटा घटना छन् ।

त्यसैगरी कब्जा, अपहरण र अवरोधका ६ वटा घटना अभिलेख गरिएको आचार्यले बताए । नीतिगत अवरोधका ३ वटा र बेपत्ता पार्ने एउटा घटना इकाईमा दर्ता गरिएको महासङ्घका अध्यक्ष आचार्यले बताए ।
अघिल्लो वर्षको यही समयमा प्रेस स्वतन्त्रता हनन्का ७६ घटनाहरू भएका थिए । ‘संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ । यद्यपि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हनन्का साथै दण्डहीनता र सेल्फसेन्सरसीप कायमै रहेको अवस्था छ ।‘-उनले भने ।

इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा भने विभिन्न घटनामा ३८ जना पत्रकार पीडित भएको उल्लेख छ । वर्ष पुस्तकमा सन् २०१७ को अवधिका घटनालाई अभिलेख गरिएको जनाइएको छ ।
यसैबिच महासङ्घले वैशाख २० गते बिहान काठमाडौँमा प्रभातफेरि र्यालीको आयोजना गरिएको छ । र्यालीमा पत्रकारहरूको सहभागिता रहेको थियो ।