भूकम्पबाट आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा सूचीकृत ओखलढुङ्गाका ४१ जना लाभग्राहीले अनुदान सम्झौता गरेपनि अहिलेसम्म पहिलो किस्ता अनुदान रकम पाउन सकेका छैनन् ।
अभिलेख राख्ने क्रममा नामनामेसी एक परिवारको, क्रम सङ्ख्या अरूकै भएको, एक व्यक्तिको नामबाट अरूलाई भुक्तानी भएको जस्ता समस्याले उनीहरूले अनुदान नपाएका हुन् ।
जिल्ला समन्वय समिति, भूकम्पीय आवाश परियोजनाको जिल्ला कार्यन्वयन इकाई, कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अभिलेखमा गडबडी भएपछि भूकम्प पीडित समस्यामा परेका हुन् ।
ओखलढुङ्गाका ७० जनाको विवरणमा यस्तो समस्या भएपनि अरूको समाधान भएको र ४१ जनाको समस्या समाधान भएको छैन । मानेभञ्ज्याङ् गाउँपालिका अन्तर्गतका वडाहरूमा यस्ता समस्या देखिएको हो । समस्या समाधानको प्रयास भइरहेको पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ । समितिका प्रमुख युवराज खरेलले समस्या समाधानका लागि पुनः निर्माण प्राधिकरणमा लेखी पठाएको दावी गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षमा दोस्रो किस्ता समेत लिइसक्नु पर्ने समयावधि तोकेको छ । पहिलो किस्ता समेत लिन नपाएका पीडितहरूले घर निर्माण नै थालेका छैनन् । चालु आवको दुई महिना मात्र बाँकी हुँदा पहिलो किस्तासमेत नपाएपछि आफूहरूले अनुदान नपाउने हो कि भनेर पीडितहरू गाउँपालिकामा आउने गरेपनि समाधानको उपाय नभएको मानेभञ्ज्याङ् गाउँपालिकाका प्रमुख मोतिराज राईले बताए । लामो समयदेखि यस्तो समस्या आएपनि सरोकारवाला निकायले चासो नदिएको पीडितको गुनासो छ ।