INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतले रिहा गरेलगत्तै नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

इलामको साँखेजुङमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेका दुई जनालाई जिल्ला अदालतले वैशाख १० गते धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

इलाम नगरपालिका-१ साँखेजुङ घर भएका २४ वर्षीय विशाल राई र २५ वर्षीय विमल राईलाई ०७४ चैत १४ गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा चैत १५ गते गिरफ्तार गरेको थियो । अनुसन्धानपछि जिल्ला अदालतले जनही ७५-७५ हजार रुपियाँ धरौटीमा उनीहरू दुवैलाई जिल्ला अदालत इलामले रिहा गरेको थियो ।

जेठ ९ गते अदालतमा हाजिर हुने गरी रिहा गरिएका विशाल र विमल दुवैलाई हिरासतमा बस्दाका उनीहरूका लुगाफाटोलगायतका सामग्री पोको पारिसकेपछि एसपीले गफ गर्न राख्नु भनेको छ भन्दै ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई कार्यालमै राखेको विशालकी पत्नी मनिता खत्रीले आरोप लगाइन् ।

‘सँगै घर फर्कौंला भनेर बेलुका ७ बजेसम्म प्रहरी कार्यालयमै बसेँ । एसपी पनि आएका छैनन् । तपाईं घर जानु बिहान लिन आउनु तपाईंको मान्छे यहीँ सुरक्षित हुन्छन् भन्दै ड्युटीमा रहेका प्रहरीले मलाई घर पठाए ।’-वैशाख ११ गते सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मनिताले भनिन्-‘बिहान ९ बजेतिर जाँदा तीनै प्रहरीले तिम्रो मान्छे छैन । रातिनै गाडीमा चढाएर लग्यो । कहाँ लगे भन्ने आफूहरूलाई थाह नभएको उनीहरूले ।’

अदालतले धरौटी लिएर तारिकमा छोडेको मान्छेलाई फेरि किन त्यसरी गिरफ्तार गर्‍यो भन्ने आफूलाई जानकारी समेत नदिएको उनले आरोप लगाइन् । मनिताले विशाल र विमल दुवै यातायात व्यवसायी रहेको र टावर आगजनीको दिन पनि दिनभर गाउँमै उन्नती परियोजनाको कार्यक्रममा रहेको र सोही दिन घर छाडेर कतै नगएको बताइन् । दुवै निर्दोष भएको र निर्दोषलाई प्रहरीले अनाहकमा दुःख दिएको मनिताको भनाइ छ ।

एसपी विपिन कर्मचार्यले भने विशाल र विमल दुवैलाई सोही एनसेल टावर आगजनीको मुद्दामै पाँचथर जिल्ला प्रहरी पठाइएको बताए । पाँचथरबाट पनि पाँच जना युवालाई सोही एनसेल टावर आगजनीकै आरोपमा जिल्ला प्रहरी कार्यालय इलाममा अनुसन्धानका लागि ल्याइएको एसपी कर्मचार्यले बताए ।

पाँचथरबाट ल्याइएका युवालाई पनि जिल्ला प्रशासन कार्यालय पाँचथरले केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जनही २ हजार रुपियाँका दरले धरौटी लिएर वैशाख १० गते नै तारेखमा रिहा गरेको थियो । उनीहरूलाई पुनः गिरफ्तार गरी १० गते राति इलाम ल्याइएको जनाइएको छ ।

अन्य

भिडियो