द्वन्द्वको समयमा राज्य पक्षबाट हत्या गरिएका राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि जेठ ७ गते अन्तिम संस्कार गरिएको छ । पीडित परिवारले कुशको शव बनाएर थारू संस्कृति अनुसार सदगत गरि अन्तिम संस्कार गरेका हुन् ।
द्वन्द्वको समयमा डरत्रास र शव नदेखेका कारणले १८ वर्षसम्म अन्तिम सस्ंकार नगरेको आमा लहिया थारुले बताउनु भयो । बुवा विक्रमबहादुर थारु र आमा लहिया थारुले छोरा अनिलकुमारको तत्कालीन शाही सेनाको टोलीले गाउँमा हिडिरहेको अवस्थामा कब्जामा लिई गोली हानी हत्या गरेको सुन्नु भएको थियो । “अरुबाट सुनेको र लास पनि नपाएकोले जीउँदै छ की भन्ने मनमा लागि रहन्छ । ” विक्रमबहादुरले भन्नु भयो । छोराको हत्या भएको सुनेको भएपनि लास नदेखेको र नपाएकोले जीउँदै होला फर्केर आउँछकी भन्न आशले अहिलेसम्म अन्तिम संस्कार नगरी बसेको उहाँले बताउनु भयो ।
अनिललाई माओवादी कार्यकर्ता भएको आरोपमा तत्कालीन शाही सेनाको टोलीले ०५९ पुस १४ गते राजापुर नपा –१० कालाबन्जर गाउँबाट लखेट्दै सोही ठाउँको आनन्दनगरमा कव्जामा लिएर गोली हानी हत्या गरेका थिए । उनको शव सोही ठाउँमा सेनाले आफैँले गाडेर गएका थिए ।
जिल्लामा सशस्त्र द्वन्द्वको समयमा वेपत्ता पारिएका केही व्यक्तिका परिवारले काम गर्दा विभिन्न कानुनी अडचन आउने भएकाले पनि मृत्यु दर्ता गराउन समेत अन्तिम संस्कार गरेको द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले बताउनु भयो ।
द्वन्द्वकालमा हत्या भएका पीडितहरूका परिवारले लास नपाएको हुनाले पनि आफ्नो मान्छे बाँचेकै छकी भन्ने लागेकोले अन्तिम संस्कार गर्न ढिलाई गरेको हुनसक्ने अध्यक्ष चौधरीले बताउनु भयो । “द्वन्द्व पीडितले सत्य जान्नको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । आयोगले काम नगरिदिदा पीडित परिवार के गर्ने भन्ने अलमलमा रहेका छन् ।” थारुले भन्नु भयो ।
बर्दियामा सशस्त्र द्वन्द्वको समयमा राज्य तथा गैरराज्य पक्षबाट कब्जामा लिएर हत्या गरिएका अनिलका परिवार जस्तै धेरै रहेका छन् । सत्य निरुपण आयोगले छोराको हत्या किन, कुन अपराध गरेका कारण भएको हो भन्ने थाहा नपाउँदै मरिने होकी भन्ने विक्रमबहादुर थारु र लहिया थारु जस्तै बृद्ध आमावुवाहरूको गुनासो रहेको छ ।