रुकुम पश्चिमको चौरजहारी हत्या घटनाका दोषीहरूलाई कारवाहीको माग गर्दै अधिकारकर्मीहरूले जेठ १६ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुको साथै अध्ययन प्रतिवेदन बुझाएका छन् । उनीहरूले उक्त अध्ययन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक नेपालगञ्जमा समेत बुझाएका छन् ।
दलित गैरसरकारी संस्था महासङ्घका प्रदेश ५ संयोजक डिलबहादुर परियारले सोती घटना जातीय विभेदकै कारण भएको बताउनु भयो । उहाँले अन्तर जातीय वैवाहिक सम्बन्धका लागि केटीको घरमा गएको समयमा कुटपिट गरि हत्या गरेर भेरी नदिमा फालिएको निष्कार्ष अध्ययन टोलीले निकालेको बताउनु भयो ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले अध्ययन प्रतिवेदन बुझ्दै उक्त घटनाको इन्सेक लगायतका सङ्घ संस्थाले स्थलगत अध्ययन गरेको बताउनु भयो ।
जेठ १२ गते प्रदेश ५ बाट मानवअधिकार र पत्रकार सम्मिलित टोली घटनास्थलमा गएको थियो । टोलीको नेतृत्व दलित गैरसरकारी संस्था महासंघका प्रदेश ५ संयोजक डिलबहादुर परियारले गरेका थिए । जेठ १६ गते प्रतिवेदन सार्वजनिक गर्दै समितिले घटना जातीय विभेदकै कारण भएको र ६ जनालाई कुटपिट पछि हत्या गरि नदिमा फालिएको उल्लेख छ । रुकुम घटनाका विषयमा अधिकारकर्मी सङ्घ संस्थाले घटनास्थलको स्थलगत अध्ययन र अनुमगन गरी प्रतिवेदन पनि सार्वजनीक गरेका हुन् ।
टोलीले प्रतिवेदन प्रस्तुत गर्दै रुकुम घटना जातीय विभेदका कारण भएको र नवराज विकसहित ६ जनाको हत्या गरेर नदिमा बगाएको उल्लेख छ ।
अध्ययन टोलीमा नेपाल दलित मुक्ति सङ्गठन प्रदेश ५, नेपाल दलित मुक्ति संगठन बाँके, नेपाल दलित सङ्घ बाँके, गैरसरकारी संस्था महासङ्घ प्रदेश ५ , दलित गैरसरकारी संस्था महासङ्घ, नेपाल दलित मुक्ति सङ्गठन बाँके, दलित महिला सङ्घ बाँके र नेपाल दलित मुक्ति सङ्गठन बाँकेले घटनाको अध्ययनपछि प्रतिवेदन सार्वजनीक गरेका हुन् ।
यसैगरी दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार रुकुम पश्चिम जिल्ला चौरजहारी नपा–८ सोतीमा भएको घटनाको विरोधमा दाङका दलित नागरिक समाजको अगुवाइमा जेठ १६ गते तुलसीपुरमा एक घण्टा अनसन गरेका छन ।
जातीय विभेदकै कारण उक्त घटना भएको उल्लेख गर्दै उनीहरूले विभिन्न ६ वटा मागसहित बिहान ८ देखि ९ वजेसम्म अनशन बसेको समाजका सदस्य निर्मल नेपालीले जानकारी दिनुभयो ।
तुलसीपुरको वीपी चौकमा एक घण्टा अनशन बसेका दलित नागरिक समाजका सदस्यहरूले तत्काल उच्चस्तरीय संसदीय छानवीन समिति गठनको माग गरेका छन । यसैगरी छुवाछुतजन्य गतिविधि गर्नेलाई हदैसम्मको कारवाहीको माग गर्दै समाजले सोती घटनाको निष्पक्ष छानवीनको माग गरेको छ । उनीहरुले सोती घटना विवाह सम्वन्धमा विभेदजन्य व्यवहारकै कारण भएको उल्लेख गर्दै मृतकहरूलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको निर्मल नेपालीले बताउनु भयो ।