INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन सुरक्षासम्बन्धी आवश्यक सामग्रीहरुको यथोचित व्यवस्था गरः आयोग

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायात लगायत निर्वाचन सुरक्षा सम्बन्धी सामग्रीहरुको यथोचित व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग ०८२ फागुन ४ गते छलफल गरी विज्ञप्ती जारी गरेको छ । छलफलको क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानव अधिकार संरक्षणको लागि भएका कार्यहरूका सम्बन्धमा जानकारी गराउन अनुरोध गर्नु भएको थियो । कार्यक्रममा सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुद निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा निकायबाट उच्च मनोबलका साथ तयारी भइरहेको सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरुले बताउनु भएको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा आयोगका सदस्यहरु, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख समेतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो