मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले ०८२ फागुन २७ गते सात जनालाई गिरफ्तार गरेको छ ।
२३ वर्षीया महिलालाई भारत तर्फ लगिरहेको अवस्थामा शंकाको आधारमा सोधपुछ गर्ने क्रममा भारत गुजरात बस्ने ३६ वर्षीय सदिक बाक्सु, सोही ठाँउ बस्ने ५६ वर्षीय हसन अब्खुला, २८ वर्षीय किशन भगवानभाइ गढिया, २८ वर्षीय सुनिल भगवानभाइ गढिया, धनुषा मिथिला विहारी नगरपालिका –३ की ५० वर्षीया महिला, महोत्तरी भंगहा नगरपालिका –३ की १८ वर्षीया युवती र सोही नगरपालिका –८ बस्ने नूनी बाबा भन्ने ४५ वर्षीय नु अलिलाई गिरफ्तार गरेको डिएसपी शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विवाहको प्रलोभनमा पारी भारत लैजाँदै गरेको पीडितको भनाइ छ । सातै जना आरोपितहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार शीर्षकमा मुद्दा दर्ता गरिएको डिएसपी शैलेन्द्र भट्टले बताउनु भयो ।