देवदह नपा– ११ की १३ वर्षीया अङ्गीरा पासीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले देवदह नपा–११ का २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५० वर्षीया अकाली भर र ठूली आमा ५५ वर्षीया सितली भरलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
आरोपित विरेन्द्रलाई गैडहवा गाउँपालिको सुर्यपुराबाट र आमा र ठूली आमालाई आरोपितको घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
विरेन्द्रले जेठ ९ गते बलात्कार गरेको र गाउँलेहरुले देखिपछि नियन्त्रणमा लिएर जेठ १० गते देवदह नपा– ११ का अध्यक्ष अमरबहादुर चौधरी सहित गाउँलेको समूहले पीडितलाई आरोपितको जिम्मा लगाएको पीडित परिवारको आरोप छ ।
जेठ ११ गते देवदह नपा–२ पेटवनियाको घरदेखि पश्चिम तर्फ रहेको राहिणी खोलाको छेउमा रहेको भेलोरको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
मृतककी आमाले जेठ १२ गते दिएको उजुरी प्रहरीले नलिएपछि अधिकारकर्मीहरूको दवावमा जेठ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको मृतककी आमाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले आरोपितहरूलाई गिरफ्तार गरी घटनाको सुक्ष्म अनुसन्धान भइहेको बताउनु भयो ।
शवको पोष्टमार्टम जेठ १३ गते लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
यसैगरी उक्त घटनाको सत्यतथ्य अध्ययनका लागि इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीको नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित चार सदस्यीय टोलीले जेठ १५ गते स्थलगत अनुगन गरि सम्वद्ध पक्षसँग भेट गरेर जानकारी लिएको छ ।