२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका–८ का २८ वर्षीय जयरुद्ध अधिकारीलाई असार २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार २१ गते बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्याम ओलियाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । डिएसी ओलियाका अनुसार पीडित महिलाले असार २१ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएकी थिइन ।
ओरोपित पक्षले मिल्नका लागि दाबाव दिइरहेकाले पीडकलाई कानुनी कार्वाहीको लागि सहयोग गरिदिन पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधिलाई भेटेर अनुरोध गरेकी छन् ।
पीडितको अनुरोध पछि इन्सेकले जिल्ला प्रहरीसँग घटनाको निश्पक्ष अनुसन्धान गरी आरोपितलाई कानुनी कार्वाहीको लागि अनुरोध गरेको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २२ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको अस्पताल प्रमुख डाक्टर भिष्म पोखरेलले बताउनुभयो ।
यस्तै २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका–८ कै २२ वर्षीय रमेश चौलागार्इँलाई असार २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले असार ७ गते बलात्कार गरेको भन्दै असार १९ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्सपेक्टर यक्षराज जोसीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १९ गते गरिएको अस्पतालका डाक्टर नहकुल शाहीले बताउनुभयो ।