१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलागुफा नपा–५ का १८ वर्षीय गोविन्द रोकाया र १९ वर्षीय नमराज चदारालाई असार १३ गते गिरफ्तार गरेको छ ।
भैंसी गोठमा असार ११ गते आरोपितहरूले पालैपालो बलात्कार गरेको पीडित बालिकाको आरोप छ । आरोपित विरुद्ध निवेदन आउना साथ गिरफ्तार गरी असार १३ गते मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।
बलात्कार घटनालाई आरोपित पक्षले गाउँमै मिलाउन खोजेपछि पीडित बालिकाले इन्सेक जिल्ला प्रतिनिधिलाई टेलिफोन गर्नुभएको थियो । इन्सेक प्रतिनिधिले डिएसपी ओलियासंग आवश्यक समन्वय गरेपछि तिलागुफा नपामा रहेको खल्लागाड प्रहरीचौकीमा पीडितले निवेदन दिनुभएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १३ गते तिलागुफा स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य चौकी इन्चार्ज बास्मती शाहीले बताउनुभयो ।