INSEC Online

📅 २०८३ जेष्ठ २१

सहुलियत दरको खाद्यान्न पाउनबाट बञ्चित

बारेकोट गाउँपालिकाका करिब ९ हजार जनताले नेपाल खाद्य संस्थानले वितरण गर्दै आएको सहुलियत दरको खाद्यान्न पाउनबाट बञ्चित भएका छन् ।

गाउँपालिकाका ९ वटा वडाका लागि नायकवाडाको घाटमा राखिएको डिपोमा असार २० गतेदेखि खाद्यान्न मौज्जाद शुन्य भएपछि घाटबजार र कार्कीज्युला बजारबाट महंगोमा खाद्यान्न जोहो गर्नु परेको बारेकोट गाँउपालिका—४ का कालीबहादुर नेपालीले इन्सेकलाई बताउनुभयो ।

डिपोबाट सर्वसाधारणका लागि जापनिज चामल प्रति ३० केजी १ हजार ५ सय र सोना मन्सुली १ हजार ५ सय ४५ रुपियाँमा पाउने गरेकोमा हाल ५ सय रुपियाँ बढी मुल्यमा किन्नु परेको नेपालीको गुनासो छ ।

घाट डिपोको लागि चालु आर्थिक वर्षमा निर्धारण गरिएको २ हजार ५ सय क्विन्टल खाद्यान्न कोटा र खाद्य अभावलाई मध्यनजर गरेर थप १ हजार क्वीन्टल स्वीकृत भएकोमा हाल सम्म २ हजार ४ सय ४२ क्विन्टल मात्र ढुवानी भएको र लकडाउनका कारण १ हजार ५८ क्विन्टल ढुवानी हुन नसकेको खाद्य संस्थान जाजरकोट शाखा प्रमुख धर्मराज बस्नेतले इन्सेकलाई बताउनुभयो ।

खाद्यान्न ढुवानीको जिम्मा पाएको एम.वि.विल्डर्स जाजरकोटका सञ्चालक विजयश्वरी खड्काले आर्थिक बर्ष सकिन लागेकोले बाँकी चामल ढुवानी गर्न नसकिने भन्दै खाद्य संस्थानमा दिएको निवेदन जिल्ला प्रशासन कार्यालय लगायत खाद्य संस्थानका विभिन्न तहमा पत्राचार गरिसकेको बस्नेतको भनाई छ ।

बारेकोटमा रहेको घाट डिपोमा हाल मौज्दात रहेको २० क्वीन्टल चामल असार २५ गते गएको पहिरोबाट पिडित बनेकाहरूको लागि वितरण गरिने र आवश्यक खाद्यान्नको व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

अन्य

भिडियो