आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका दुईजना कैदीलाई प्रहरीले कृष्णनगर र कपिलवस्तु नगरपालिकाबाट ०८२ चैत ८ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा विजयनगर गाउँपालिका– ५ का कर्तव्य ज्यान मुद्दाका अभियुक्त चन्द्र बहादुर श्रीस र कपिलवस्तु नगरपालिका– ११ का लागु औषध कसुरका अभियुक्त जलान्धर केवट रहेका छन् । हुसेन हातहतियार खरखजना कसुरका अभियुक्त रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो । गत भदौ २३ गतेको आन्दोलनका क्रममा अभियुक्तहरु कपिलवस्तु कारागारबाट भागेका थिए ।
कपिलवस्तु कारागारबाट भागेका ४ सय ३० जनामध्ये ३ सय १६ जना कैदी बन्दीहरु गिरफ्तार भइसकेको र अझै १ सय १४ जना फरार रहेको कपिलवस्तु कारागार प्रशासनले जनाएको छ ।
कारागारमा अहिले २० वर्षदेखि ८२ वर्ष उमेर समूहका कैदी बन्दीहरु रहेको कारागार प्रशासनले जनाएको छ । प्रतिवादी चन्द्र बहादुर श्रीस ७० वर्ष माथिका अभियुक्त हुन् । जिल्ला अदालत कपिलवस्तुले २० वर्षको कैद सजाय तोकेको छ ।