जिल्ला कारागार शाखा म्याग्दीमा लामो समयदेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेपछि कैदीबन्दीहरुलाई उपचारमा समस्या रहेको छ । कारागारमा स्वास्थ्यकर्मी नभएपछि ०८२ पुस २९ गते कैदीबन्दीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश अस्पताल बेनीसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यको अग्रसरतामा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बाँस्तोला सहित पाँच जना स्वास्थ्यकर्मी सहितको टिमले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको थियो ।
कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई औषधी समेत उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनु भयो । स्वास्थ्य शिविरको अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुका साथै जिल्ला न्यायाधिवक्ताको समेत उपस्थिति रहेको थियो ।
जिल्ला कारागारमा रहेका ९२ जना कैदीबन्दीहरु मध्ये ८० जनाको स्वास्थ्य परीक्षण गरिएको जेलर प्रतिज्ञा सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गरिएका मध्ये ५४ जनालाई औषधि वितरण गरिएको थियो । कारागारमा रहेका कैदीबन्दीहरु मध्ये धेरै सुगर, प्रेसर तथा नसा सम्बन्धी रोगहरु पहिचान भएको बेनी अस्पतालका डा. हेमन्त बाँस्तोलाले बताउनुभयो । कारागारमा रहेका मध्ये तीन जनाले सुगर, नौ जनाले प्रेसर र चार जनाले नसा सम्बन्धी रोगको नियमित औषधी प्रयोग गर्ने गरेको समेत बाँस्तोलाले बताउनु भयो ।