जिल्ला कारागार, दार्चुलामा ६ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । अहेवको दरबन्दी रहेको कारागारमा ०८२ साउनयता स्वास्थ्यकर्मी आएका छैनन् ।
चिसोको बेला कैदीबन्दी बिरामी बढी हुने भए पनि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहँदा सामान्य चेकजाँचमा समेत समस्या भएको जेलर सरीता चन्दले बताउनु भयो । सामान्य बिरामी देखिदा पनि कारागारबाट कैदीलाई जिल्ला अस्पतालसम्म पुर्याउनु पर्ने बाध्यता छ ।
कारागारबाट ५ सय मिटर तल जिल्ला अस्पताल छ । सुरक्षाकर्मीको सहायतामा कैदीबन्दी जिल्ला अस्पताल लैजानु पर्ने अवस्था छ । कार्यालयसँग सवारी साधन छैन् । टाँढा लगेर सामान्य चेकजाँच गर्दा समस्या नै हुने उहाँको भनाइ छ ।
जेलर चन्दका अनुसार कारागारका कैदीहरुमा अधिकांशमा पाइल्सको समस्या बढी देखिएको छ । व्यायामको अभावमा कैदीहरुमा पाइल्सको समस्या देखिएको हुन सक्ने उहाँको भनाइ छ ।
‘घ’ श्रेणीको जिल्ला कारागारमा अहिले क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी छन् । २५ जना पुरुष र १५ जना महिला गरी ४० जनाको क्षमता रहेको कारागारमा हाल ७० जना कैदी र २१ जना थुनुवा गरी ९१ जना राखिएको जेलर चन्दले बताउनु भयो । महिला कैदीबन्दी नहुँदा पुरुषलाई महिला वार्डमा राखिएको छ । महिला कैदीबन्दी आउनेबित्तिकै पुरुषलाई व्यवस्थापन गर्न निकै समस्या हुने जेलर चन्दले बताउनुभयो ।
जेलर चन्दका अनुसार कारागारमा कैदीबन्दीले शौचालय जान समस्या छ । चिसोमा मिलेर सुतेका छन् । गर्मीको बेला पनि यस्तै कैदीबन्दी थपियो भने बास व्यवस्थापन सबै भन्दा बढी चूनौति हुनेछ । कारागारमा एक जना पुरुष ज्येष्ठ नागरिक र दुई जना पुरुष अपाङ्गता भएका कैदीबन्दीहरु रहेका छन् ।
कारागारमा कैदीबन्दीको लागि शिपमूलक तालिम सञ्चालन हुनुपर्ने कैदीबन्दीको माग छ । कारागारभित्र त्यत्तिकै बस्नुभन्दा शिपविकासका तालिम सञ्चालन भयो भने समय बिताउन सहज हुने उनीहरुको भनाइ छ ।