INSEC Online

📅 २०८३ जेष्ठ २१

कञ्चनपुर कारागार झडपः १३ जना कैदीबन्दी अन्यत्र स्थानान्तरण

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबिच भएको झडपपश्चात उक्त कारागारका नाइके सहित १३ जना कैदीबन्दीहरुलाई ०८२ पुस ९ गते अन्यत्र कारागारमा स्थानान्तरण गरिएको छ ।

कारागार आन्तरिक प्रशासनले कैदीबन्दीमाथि विभेद गर्दै आएको, समयमा खान, भत्ता र लुगा नदिने गरेको, कैदीबन्दीबाट रकम असुली गर्ने गरेको भन्दै कारागारका चौकीदार र नाइकेविरुद्ध अन्य कैदीबन्दीहरुले आन्दोलन गरेपछि चौकीदार र नाइके समूह र अन्य कैदीबन्दीबिच ०८२ पुस ४ गते झडप भएको थियो ।

झडपका क्रममा आठ जना कैदीबन्दीहरु घाइते भएका थिए भने घाइते तथा अधिकांश कैदीबन्दीहरुले कारागारमा रहेका नाइके प्रकाश मल्लसहित कैदीबन्दीहरुलाई दुःख दिने अन्य कैदीबन्दीहरुलाई स्थानान्तरण तथा कारबाहीको माग समेत गरेको थिए ।

चौकीदार र नाइकेहरुले कारागार आन्तरिक प्रशासन मनपरी तरिकाले सञ्चालन गर्दै कैदीबन्दीलाई दुःख दिनेगरेकोले कारागार अन्तरिक प्रशासन सञ्चालन गर्दै आएका चौकीदार र नाइकेलाई अनेत्र कारागार सरुवा गर्नु पर्ने अन्य कैदीबन्दीहरुको माग अनुसार नाइके प्रकाश मल्लसहितका १३ जना कैदीबन्दीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्त्रण गरिएको कञ्चनपुर जिल्ला कारागारका प्रमुख बन्दना सुवेदीले बताउनु भयो ।

कैदीबन्दीको माग अनुसार कञ्चनपुर जिल्ला कारागारका नाइके सहितका कैदीबन्दीहरुलाई अन्य कारागारमा स्थानान्तरण गरिएपछि हाल कञ्चनपुर जिल्ला कारागारको अवस्था सामान्य बन्दै गएको समेत उहाँले बताउनु भयो ।

कारगारमा भएको झडप सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहरा र जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहनुभएको जिल्ला प्रहरी कार्यालयका एसपी खडकराज खत्रीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो