INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मी कारागारमा झण्डै पाँच गुणा बढी कैदीबन्दी

गुल्मी कारागार पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमताको रहेको छ । हाल कारागारमा १ सय १३ जना कैदीबन्दी छन् । जसमा महिला छ र दुई आश्रित बालबालिकासहित १ सय ५ पुरुष रहेका छन् । क्षमताभन्दा चार÷पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनको चुनौतिहरुको बारेमा बर्षेनी मानव अधिकार वर्ष पुस्तकमा प्रकाशित हुने गरेको छ । अर्धबार्षिक तथा बार्षिक पूर्व समिक्षामा समेत चर्चा हुने गरेको छ । यद्यपी समस्या ज्यूँका त्यूँ छ । कैदीबन्दीहरु काठको काममा अब्बल भएकाले डबल तथा त्रिपल डेकोर बेडहरु बनाएर सुत्ने गरेका छन् । शौचालय, भान्सा, बाथरुम र भित्र उद्यमको काम गर्न निकै सकस भइरहेको कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो । कारागार संरचनाकै कारण महिला र पुरुष कैदीबन्दीहरुको छुट्टै भेटघाट गर्ने कक्ष र गेटहरु छैनन् । कारागारभित्र सुत्नकै लागि सकस भएकाले पुस्तकालय, टिभी, पत्रपत्रिकाको व्यावस्थापन समेत छैन । कारागारमा बाँसको सिन्का बनाउनेदेखि चौकोस, पलङ्गसम्मको काम गर्ने जनशक्ति कैदीबन्दीमै भएकाले उत्पादित सामग्री राख्न नसकिएको कारागार प्रमुख पन्थीले गुनासो गर्नुभयो । कागारगारमा जनशक्ति पदपूर्ति नहुँदा नियमित स्वास्थ्य परामर्श र चेकजाँच हुन नसकेको कारागारले जनाएको छ ।

टोपलाल अर्याल

अन्य

भिडियो