INSEC Online

📅 २०८३ जेष्ठ २१

तोकिएको सेवासुविधा नदिएको भन्दै कैदीबन्दी आन्दोलित

जिल्ला कारागार, डडेल्धुराका कैदीबन्दीहरूले विभिन्न माग राख्दै ०८२ पुस ७ गते बिहानदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले तोकेको मौसमी कपडा बापतको रकम दुई महिना बितिसक्दा पनि नपाएको भन्दै जिल्ला कारागारका कैदीबन्दीहरुले आन्दोलन सुरु गरेका हुन् ।

०८० सालदेखि कामदारी सुविधा नपाइको र कारागारभित्र सफाइका सामग्रीदेखि आवश्यक सामानसम्म आफ्नै खर्चमा किनेर गुजारा गर्न बाध्य भएको कैदीबन्दीहरुको गुनासो छ । भेटघाट कक्ष राखिएको भए पनि परिवारसँग सहज भेट्न नदिइएको र घरबाट ल्याइने खाद्य सामग्रीमा समेत रोक लगाइएको कैदीबन्दीको आरोप छ ।

कैदीबन्दीहरुका समस्याहरुलाई सम्बोधन गर्नुको सट्टा गुनासो राख्दा जेल प्रशासनले कैदीबन्दीहरुलाई धम्की दिने, कुटपिटसम्म गर्ने, स्वास्थ्य उपचारमा बेवास्ता गर्ने तथा बिरामी भएपछि स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्रै अस्पताल लगिने गरेको समेत कैदीबन्दीहरुको आरोप छ ।

माटो सफाइका लागि आएको १० लाख रुपियाँ बराबरको काम कैदीबन्दीबाट गराइएको भए पनि पारिश्रमिक नदिएको, आधारभूत सुविधा समेत कटौती गरिएकोले आफूहरुका माग पूरा नभएको अवस्थामा अनशन समेत सुरु गरिने कैदीबन्दीहरुको बताएका छन् ।

जिल्ला कारागार जेलर सन्तोष भट्टले कैदीबन्दीहरुले गलग आरोप लगाएको र वर्षमा दुई पटक २ हजार ५ सय रुपियाँका दरले दिइने कपडा भत्ता गत वर्ष ४ हजारसम्म बढाइए पनि यसवर्ष बजेट अभावका कारण कठिनाइ भएको बताउनु भयो । उपलब्ध बजेट अनुसार यसपटक प्रतिव्यक्ति ३ हजार रुपियाँसम्म दिन सकिने भए पनि कैदीबन्दीहरूले तत्काल ४ हजार रुपियाँ पाउनु पर्ने माग गरेपछि विवाद उत्पन्न भएको उहाँले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी ओलीले मौसमी कपडा बापतको नियम अनुसार २ हजार ५ सय रुपियाँ पाउनु पर्ने व्यवस्था भए पनि विगतमा ४ हजार रुपियाँ पाएको अनुभवका कारण कैदीबन्दीहरूले सोही बराबर रकम माग गर्दा समस्या उत्पन्नभएको बताउनु भयो ।

जिल्ला कारागार, डडेल्धुराको कुल बजेट ३ लाख ५० हजार रुपियाँ मात्रै भएका र उक्त बजेटबाट प्रत्येक कैदीबन्दीहरुलाई ४ हजार रुपियाँका दरले मौसमी कपडा बापतको रकम उपलब्ध गराउन कठिनाइ भइरहेकोले समस्या समाधानका लागि मन्त्रालय र विभागलाई जानकारी गरी समाधानका प्रयास भइरहेको समेत सहायक प्रमुख जिल्ला अधिकार ओलीले बताउनु भयो ।
हाल जिल्ला कारागारमा १ सय ३२ जना कैदीबन्दीहरु रहेका छन् ।

 

शेरबहादुर भण्डारी

अन्य

भिडियो