कञ्चनपुर जिल्ला कारागारमा ०८२ पुस ४ गते साँझ कैदीबन्दीबिच झडप हुँदा आठ जना कैदीबन्दीहरु घाइते भएका छन् ।
झडपमा परी गम्भीर घाइते हुनेमा किरन सिंह, दिनेश कुँवर, करन कुँवर र राजेन्द्र सुनार रहेका छन् भने सन्दीप भण्डारी, मदन गिरी, जनक खड्का र रोशन शाही सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते भएका चार जना कैदीबन्दीहरुको माहाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा उपचार भइरहेको र अन्य सामान्य चोटपटक लागेका कैदीबन्दीहरुको कारागारमै उपचार गरिएको कञ्चनपुर जिल्ला कारागारका प्रमुख बन्दना सुवेदीले बताउनु भयो ।
कारागार आन्तरिक प्रशासनले कैदीबन्दीमाथि विभेद गर्दै आएको, समयमा खान, भत्ता र लुगा नदिने गरेको, कैदीबन्दीबाट रकम असुली गर्ने गरेको भन्दै कारागारका चौकीदार र नाइकेहरु विरुद्ध अन्य कैदीबन्दीहरुले आन्दोलन गरेपछि चौकीदार र नाइके समूह र अन्य कैदीबन्दीबिच झडप हुनगएको जेलर बन्दना सुवेदीले बताउनु भयो ।
चौकीदार र नाइकेहरुले कारागार आन्तरिक प्रशासन मनपरी तरिकाले सञ्चालन गर्दै कैदीबन्दीलाई दुःख दिने गरेकोले कारागार अन्तरिक प्रशासन सञ्चालन गर्दै आएका चौकीदार र नाइकेहरुलाई अन्यत्र कारागार सरुवा गर्नु पर्ने अन्य कैदीबन्दीहरुको माग रहेको जेलर सुवेदीले बताउनु भयो ।
कैदी बन्दीहरूलाई कारागार प्रशासनले दैनिक ७ सय ग्राम चामल, ८० रुपियाँ भत्ता र जाडो र गर्मीमा एक/एक जोर लुगा बापतको रकम दिने गरेको भएपनि नाइके र चौकीदारले सो रकम समेत नदिने गरेको कैदीबन्दीहरुको आरोप छ ।
कारागारमा कैदीबन्दीबिच झडप भएको जानकारी प्राप्तभएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको र हाल कञ्चनपुर जिल्ला कारागार सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका एसपी खडकराज खत्रीले बताउनु भयो ।
१ सय ४० जना कैदीबन्दीको क्षमता रहेको कञ्चनपुर जिल्ला कारागारमा हाल १७ महिला सहित ३ सय ८४ जना कैदीबन्दी राखिएको छ ।