INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा जिल्ला कारागार खोटाङको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङले ०८२ मङ्सिर १ गते जिल्ला कारागार खोटाङको अनुगमन गरेको छ ।

कारागारमा हुनुपर्ने स्वास्थ्यकर्मीको दरबन्दी, भौतिक अवस्थालगायतका विषयमा इन्सेकले कारागार कार्यालयको अनुगमन गरेको हो ।
इन्सेक खोटाङ प्रतिनिधि र  पूर्व प्रतिनिधि तारानाथ फुँयालको टोलीले कारागारका प्रमुख प्रदीप श्रेष्ठसँग कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी, भौतिक पूर्वाधार, गाडी नहुँदा कैदीबन्दी तथा थुनुवालाई अदालतमा उपस्थित गराउने क्रममा हुने अफ्ठ्यारालगायतका विषयमा अनुगमन गरी जानकारी लिएको छ ।

अनुगमनका क्रममा जिल्ला कारागारमा दरबन्दीमा कार्यरत एक जना चिकित्सक ०८१ पुसमा काज लिएर अन्यत्र गएपछि ११ महिनायता कारागारमा स्वास्थ्यकर्मी नभएको पाइएको छ ।

दरबन्दीमा हुनुपर्ने स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी तथा थुनुवाहरू आधारभूत र प्राथमिक उपचारबाट समेत वञ्चित हुनु परेको छ । दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी तथा थुनुवाले आधारभूत र आकस्मिक अवस्थामा स्वास्थ्य अधिकारबाट समेत वञ्चित हुनु परेको कारागारका प्रमुख प्रदीप श्रेष्ठले इन्सेककर्मीसँग बताउनु भयो ।

अनुगमनका क्रममा जेनजी आन्दोलनपछि जिल्ला कारागारमा बैकल्पिक रुपमा विजुलीबत्तीको व्यवस्था नहुँदा विद्युत गएको समयमा कारागार अन्धकार हुने भएकाले सुरक्षामा जोखिम रहेको कारागार प्रशासनले जनाएको छ ।

जेनजी आन्दोलनको समयमा बैकल्पिक बत्तीको अत्यन्तै आवश्यकता खड्किएको कारागारका प्रमुख श्रेष्ठले इन्सेकको अनुगमन टोली समक्ष बताउनु भएको छ । जेनजी आन्दोलनका बेला विद्युत नहुँदा कारागार अन्धकार रहेको थियो । देशका धेरै कारागारबाट कैदीबन्दी फरार भइरहेका थिए । सोही समयमा जिल्ला कारागार खोटाङ अन्धकारहुँदा सुरक्षामा चुनौती थपिएको श्रेष्ठले बताउनु भयो । तर, कैदीबन्दी अनुशासनमा बसेकाले कुनै घटना भने नभएको उहाँले अनुगमन टोलीलाई बताउनु भयो ।

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट बञ्चित भएको विषयमा कारागारका प्रमुख श्रेष्ठले कारागारमा कार्यरत स्वास्थ्यकर्मी कपिन्द्र कठायत ०८१ पुसमा काजमा अन्तै गएपछि हालसम्म कोही पनि नआएको बताउनु भयो । कैदीबन्दी तथा थुनुवाहरुमा रुघाखोकी जस्ता समस्या हुँदा समेत आधारभूत र आकस्मिक स्वास्थ्यबाट वञ्चित हुनु परेको प्रमुख श्रेष्ठले बताउनु भयो ।

कारागारको आफ्नै गाडी नभएका कारण कैदीबन्दीको आधारभूत तथा आकस्मिक स्वास्थ्य जाँचका लागि भाडामा गाडी लिएर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता रहेको कारागार प्रमुख श्रेष्ठले इन्सेक अनुगमन टोलीलाई बताउनु भयो ।

माटो प्रयोग गरेर निर्माण गरिएको कारागार भवन जीर्ण भएकाले कारागार असुरक्षित भएको कारागारका प्रमुख श्रेष्ठले अनुगमन टोलीलाई बताउनु भयो । जमिन भासिने र भवन चर्किने क्रम निरन्तर रहेकाले कारागार अन्य ठाउँमा सार्नु पर्ने अवस्था आउन सक्ने देखिएको छ ।

कारागारको तल्लो पट्टिको भाग भासिएर वाल भत्किएको अवस्थामा रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । कैदीबन्दी बस्ने भवन वरिपरीको पर्खाल ठाउँ ठाउँमा चर्किएको पाइएको छ ।

हाल कारागारमा तीन जना महिला र १ सय ३७ जना पुरुष गरी १ सय ४० जना कैदीबन्दी राखिएको छ ।

 

राजकुमार भट्टराई 

अन्य

भिडियो