जेनजी आन्दोलनका क्रममा कास्की कारागारमा आक्रमण भएपछि भागेका २ सय ९३ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागारबाट भागेका ४ सय ८० जना कैदीबन्दी फिर्ता भइसकेका छन् भने अझै २ सय ९३ जना फरार रहेको कारागार प्रमुख राजेन्द्र शर्माले बताउनु भयोे । ‘कारागार प्रशासनले पटकपटक अल्टिमेटम दिएको छ । तर, धेरै कैदीबन्दी अझै पनि फरार रहेका छन् । कारागार नफर्किएकाका लागि प्रहरीले खोजी गरिरहेको छ,’ शर्माले भन्नुभयो ।
उहाँका अनुसार कास्की कारागारमा आन्दोलन अघि ७ सय ७३ जना कैदीबन्दी रहेका थिए । तीमध्ये महिलाको ब्लकमा ३५ जना र पुरुषका लागि रहेका दुई ब्लकमा ७ सय ३८ जना बस्दै आएका थिए । तर, आन्दोलनकारीले तोडफोड सुरु गरेपछि कैदीबन्दीहरू एकैपटक बाहिर निस्केका थिए । फिर्ता नआएकाहरूलाई प्रहरीमार्फत खोजी कार्य तीव्र बनाइएको कारागार प्रमुख शर्माले बताउनुभयो । ‘सम्पर्कमा नआएकाहरूका हकमा प्रहरीलाई सूचना दिने अनि प्रहरीले खोजेर ल्याउने प्रक्रिया अघि बढाइएको छ,’ उहाँले भन्नुभयो ।
त्यसैगरी पोखराको ग्यारजातीस्थित बाल सुधार गृहमा रहेका १ सय ९ जनामध्ये असोज २१ गतेसम्म ६६ जना बालक फर्किएका छन् । सुधार गृह प्रमुख डासी पौडेलका अनुसार सूचना निकाल्दा पनि अझै केही फरार बालक बालसुधार गृह फर्किएका छैनन् । कैदीबन्दी र बालबालिकालाई स्वेच्छाले फर्कन मनोवैज्ञानिक र कानुनी दुवै माध्यम प्रयोग गरिएपनि अझै नफर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सञ्जय रानाभाट