शारदा नगरपालिका– १३ स्यानीखालकी ५४ वर्षीया एकल महिला हिर्मी बुढाथोकीलाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने एक दम्पतीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
कथित बोक्सीको आरोप लगाउने ५६ वर्षीया कौशिला बुढाथोकी र सोही आरोपमा कुटपिट गर्ने उनका पति ५८ वर्षीय मेघलाल बुढाथोकीलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।
आफन्तको घरबाट फर्किदै गर्दा साउन ५ गते घर नजिकै बाटोमा आफू सहित बहिनी विमला बस्नेतलाइ आरोपित दुबैजनाले एक्कासी कुटपिट गरेको पीडितले इन्सेकलाइ फोन मार्फत साउन १२ गते जानकारी दिनुभयो ।
कुटपिटबाट हिर्मी बुढाथोकीको टाउकोमा चोट लागेको र स्वास्थ्य सेवा कार्यालय सल्यानमा उपचारपछि हाल स्वास्थ्य अवस्था सामान्य रहेको सल्यान अस्पतालका निमित्त प्रमुख भिमकान्त जैशीले बताउनुभयो ।
घटनाका आरोपितहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ ।