INSEC Online

📅 २०८३ जेष्ठ २१

अभद्र व्यवहार गरेको आरोपमा शिक्षक गिरफ्तार

२० वर्षीया युवतीलाई हैरानी दिएको आरोपमा प्रहरीले नुवाकोटको सूर्यगढी गाउँपालिका–४ हिरामुनीटार घर भएका २७ वर्षीय सुमित भट्टराईलाई ०८२ भदौ ८ गते गिरफ्तार गरेको छ ।

तार्केश्वर नगरपालिका–१० स्थित मनमैजुमा बस्दै आएका भट्टराई शिक्षक समेत हुन् ।

आरोपितले युवती आफूलाई मन पर्ने भन्दै उनले लगातार पछ्याएर हैरानी पारेको पीडितले आरोप लगाएकी छिन् । सार्वजनिक बस र टेम्पोमा पनि लगातार पछ्याउने र म्यासेज गर्ने गरेपछि युवतीले प्रहरीमा साउन २१ गते उजुरी दिएकी थिइन् ।

आरोपितले युवतीलाई ७ सय पटकसम्म म्यासेज गरेको र ईसेवामा एक रुपियाँको दरले रिचार्ज गरेर रिमार्कमा म्यासेज पठाएर हैरानी पार्ने म्यासेज पठाउने गरेको युवतीको आरोप छ ।

युवतीले उनीविरुद्ध सुरुमा साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । साइबर अपराधको कसुरमा प्रमाण नपुग्ने भन्दै उनलाई ब्युरोका अधिकृतहरूले स्थानीय प्रहरीमा जान आग्रह गरेका थिए ।

त्यसपछि उनले दरबारमार्ग र सोह्रखुट्टे वृत्तमा उजुरी दिएकी थिइन् । त्यहाँ छलफल भएपछि पनि लगातार हैरानी गरेपछि पीडितले प्रहरी वृत्त कालिमाटीमा उजुरी दिएकी थिइन ।

भट्टराईलाई थुनामा राखेर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताउनुभयो ।

अन्य

भिडियो