INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक समितिमा आउदा पनि जनताले पारिवारिक वातावरणमा न्याय पाउदै आएका छन्

संविधानसभाबाट संविधान जारी भएपछि बनेको स्थानीय सरकार सञ्चालन ऐन २०७२ ले स्थानीय तहमै न्यायिक निरुपणको व्यवस्था गरेपछि नागरिकका विवाद समाधानका लागि स्थानीय तहमा स्थापना भएको न्यायिक समिति क्रियाशील छ । गाउँघरमा हुने गरेका घरेलु हिंसा र कुलो, पानी, साँध सिमाना विवाद, लेनदेनका समस्याहरुको समाधानमा न्यायिक समितिको भूमिका निकै महत्वपूर्ण हुने गरेको छ । सामान्य होस वा गाउँघरमा हुने गरेका निकै ठूला मानिने घटनाहरु होस वा त साना तिना विवादलाई अदालतसम्म लगेर कार्यबोझ सिर्जना गर्नेमात्र नभई विवादका पक्षहरूलाई पनि खर्चिलो र लामो समयसम्म धाउनु पर्ने समस्यालाई स्थानीय तहमै मेलमिलापबाट समाधान गर्न न्यायिक समितिको व्यवस्था गरिएको हो । ऐनले निर्दिष्ट गरेका काम भएका छन कि छैन त ? यसै सन्दर्भमा म्याग्दीको मालिका गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मीदेवी घर्ती मगर पुनसँग इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले गर्नु भएको कुराकानीको सम्पादिक अंश प्रस्तुत गरिएको छ ।

न्यायिक समितिमा के कस्ता उजुरीहरु आउने गर्दछन् र न्याय निरुपणको काम कसरी भइरहेको छ ?
मुलुक सङ्घीय संरचनामा रहेको वर्तमान अवस्थामा हामीले स्थानीय स्वायत्त शासन ऐन २०७४ को दफा ४७ (१) र (२) अनुसारका विवाद निरुपणको काम गरिरहेका छौँ । न्यायकि समितिमा आउने हरेक प्रकारका विवादमा मिलापत्र गरेर दुवै पक्षले आफूले जित हासिल गरेको महसुस गर्ने खालको पद्धती अपनाएर हामीले काम गर्दै आइरहेका छौं । दर्ता भएका विवाद निरुपण गर्नका लागि हामीले दुवै पक्षको अनुरोध र सहमतीमै काम गर्दै आएका छौं । तर कतिपय संवेदनशील विवाद आउँदा भने हामीले तत्कालै काम गरेर चाँडै निचोडमा पुग्ने प्रयास पनि गरेका छौं । कतिपय प्रसङ्गमा अदालतले बोलाउने तारिख जस्तै हाजिरीमा पनि बोलाउने गर्दछौं ।

यहाँ भुगोलका हिसाबले ठुलो र पहाडी तथा विकट क्षेत्र पनि छन् । उहाँहरू न्यायिक समितिमा आउँदा जाँदा भाडालगायत खर्च धेरै हुने पीडितहरूको समस्यालाई मध्यनजर गर्दै न्यायिक समितिका प्रतिनिधिहरु नै गाउँमा पुगेर पनि कतिपय समस्या समाधानको प्रयास गर्ने गरेका छौं । न्यायिक समितिप्रति विश्वास बढ्दै गएको महसुस पनि हुँदै छ । कुनै दलको उम्मेदवार भएर आउदा हुने र उब्जने शंकालाई निरुपण गर्नु पनि त छ नि । गाउँपालिकाको न्यायीक समिति भन्दा पनि वास्तवमा घर सल्लाह जस्तै गरी समस्या समाधान भएको महसुस नागरिकले गर्नुपर्छ भनेरै हामीले त्यही प्रकारले नै काम गर्दै आएका छौं । न्यायिक समितिमा आउदा पनि जनताले पारिवारिक वातावरणमा न्याय पाउने भएकाले नागरिक विश्वास अझ बढेर गएको छ भन्दा फरक नपर्ला ।

लैङ्गिक हिंसा न्यूनीकरण गर्न केकस्ता प्रयास के भइरहेका छन् ? अनि न्यायिक समितिमा आउने उजुरी प्रति कुनै प्रकारको दबाब आउने गरेको छ कि छैन ?
मालिका गाउँपालिकालाई लैङ्गिक हिंसा नियन्त्रित बनाउनु पर्छ भन्ने हाम्रो सोँच हो । टोल, वडा हुँदै पालिकालाई हिंसा नियन्त्रित अर्थात् हिंसा बिहिन बनाउन विभिन्न सूचकहरू तयार गरी सोही अनुसार सचेतनाका कार्यक्रम गर्ने, संरचनामा सुधार गर्ने र हिंसा हुन नदिन दम्पत्ति र सासु बुहारीलाई सँगै राखेर सचेतना दिने गर्नु पर्छ भन्ने पनि हाम्रो मान्यता हो । कहिँ कतै पनि हिंसा नहुने वातावरण तयार गर्ने र भइहाले हिंसाप्रति शून्य सहनशीलता अपनाउनका लागि पनि हामीले सचेत गराउँदैछौँ भने हिंसामा परेर समस्यामा परेकाहरूका लागि तत्काल समाधानको प्रयास गरेका पनि छौं । त्यस्तै हामीलाई काम गर्न अर्थात् न्याय सम्पादन गर्ने क्रममा हाल सम्मको अवस्था हेर्ने हो भने कुनै पनि प्रकारको दवाब झेल्न परेको छैन । कसैले दवाव दिन खोजे पनि त्यो दवाव अनुसार काम गर्दा कुनै पनि पक्षलाई चित्त नबुझ्न सक्छ भन्ने तर्फ ध्यान दिँदै दबाब मुक्त भएर काम गर्ने प्रयास गरिएको छ ।

बजेट निर्माण तथा न्याय र अधिकार सम्बन्धी कानुन निर्माणमा यहाँको भूमिका कस्तो रहेको छ?
निर्वाचित भएर आउनुभन्दा अगाडी जे जसरी काम गर्ने सोचेर आएको थियो त्यस्तो गर्न अझै सकिएको छैन भन्दा फरक नपर्ला । तर, यसो भन्दैमा गर्दै गरिन भन्न खोजेको पनि होइन । किनभने अहिलेसम्म जेजति काम भएको छ राम्रोसँग गरिएको छ । नीति बनाइएको छ, त्यसलाई कार्यान्वयनमा लैजानका लागि बजेटको व्यवस्थापन गर्नु र कार्यान्वयनको पाटोमा जाने अवस्थामा छौं । कतिपय अवस्था हेर्दा कार्यपालिका होस् या गाउँ सभामा पनि न्यायिक समिति वा हामीले राख्ने सवालहरुलाई पुरुषप्रधान सोच कहीँ कतै झल्किएको हो कि जस्तो गरी अगाडी बढ्न खोज्ने गरिन्छ । त्यस्तो भए पनि हामीले त्यसलाई उचित तबरले छलफल र बहस गरेर सही तबरले सही मार्गमा लैजानका लागि नै प्रयास गरेका हुन्छौ ।

शिक्षा, स्वास्थ्य तथा पिउने पानीको अवस्था के कस्तो छ ?
नेपालको संविधानले तोकेकै व्यवस्था हो कि कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र त्यो नै हाम्रो पालिकामा छ । तोकेको कुरा हुँदै गर्दा पनि समस्या के छ भने राज्यले विद्यालयमा एउटा शिक्षक पठाएर भरमग्दुर पढाउन भन्दा त्यो अनुसार हुन सक्ला कि नसक्ला सोचनीय कुरा छ नि यो ? पहिलाको तुलनामा हेर्ने हो भने शिक्षामा सुधारका धेरै सूचकहरु हामीले नपाएको होइन । त्यसैले हामी यो कुरामा ढुक्क छौं कि शिक्षामा सुधार भएको छ । त्यस्तै पिउने पानीका लागि नेवा भन्ने संस्थासँग मिलेर हामीले दरवाङ तथा जनप्रिय मावि स्कुल, रुम, बिम, निस्कोट लगायतका गाउँहरुमा धेरै जनताको घरमै एकघर एक धारा पु¥याएका छौं । स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । बाँचेपछि मात्रै अरु विकास आवश्यक पर्ने हो । त्यसैले स्वास्थ्य प्रवद्र्धनको विषयमा पनि नागरिकसँगै छ गाउँपालिका । महिलाहरूको पाठेघर क्यान्सरको परीक्षणका लागि हामीले ठाउँ–ठाउँमा निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गर्ने गरेका छौं । विपन्न दीर्घरोगीहरूलाई उपचारका लागि मासिक ५ हजार रूपियाँ खर्च उपल्ध गराइरहेका छौँ भने जोसुकै दीघरोगीका लागि एकमुष्ठ वार्षिक ५ हजार रूपियाँ दिइरहेका छौँ ।

भिडियो