विगतको तुलनामा यो वर्ष औषतभन्दा बढी वर्षा हुने र अघिल्लो वर्षको तुलनामा बढी जनधनको क्षति हुने अनुमान मौसमविद्हरूले गरेका छन् । मौसम सक्रिय भइरहँदा स्थानीय सरकारले बिपद् प्रतिकार्य योजना कसरी बनाएका छन् । वर्षातका कारण पहाडी भु–भागमा पहिरोको उच्च जोखिम र तराई क्षेत्रमा बाढी, पहिरो, डुवान, कटानका घटनाहरू बढी हुन्छन् । वर्षातका कारण हुने बाढी पहिरो व्यवस्थापन, उद्धार र राहतका लागि बुद्धभुमी नगरपालिका कपिलवस्तुले के कस्ता नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गरेको छ । विपद् व्यवस्थापनका लागि कसरी काम गरिरहेको छ । सो विषयमा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठसँग इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीले गरेको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।
बुद्धभुमी नगरपालिकाले बिपद् व्यवस्थापनका लागि के कस्ता नीति, योजना, बजेट, कार्यक्रम सहितको प्रतिकार्य योजना निर्माण गरेको छ ?
बुद्धभुमी नगरपालिका सबैभन्दा बढी प्राकृतिक जोखिम पर्ने स्थानीय तह मध्येको एक हो । प्राकृतिक बिपद् कस्तो खालको कति बेला आउँछ ठ्याक्कै जानकारी नहुने तर यसले जस्तोसुकै जोखिम पनि निम्त्याउन सक्ने भएकोले स्थानीय तहस्तरको बिपद् व्यवस्थापन समितिको बैठक बसेर जोखिमका क्षेत्रहरूको पहिचान गर्ने, हुनसक्ने क्षतिको आँकलन गर्ने र जोखिम क्षेत्रका नागरिकहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, त्यस सम्बन्धी सूचनाहरू प्रवाह गर्ने गरेका छौँ । नगरपालिकाले मानवीय विकास र भौतिक विकासलाई सँगसँगै लैजाने गरी अगाडि बढेका छौँ । नीति, योजना, बजेट, कार्यक्रम बनाएर बिपद्को सामाना गर्दैछौँ । भौतिक पूर्वाधार विकासमा नयाँ योजना खासै छैनन् पुरानालाई निरन्तरता दिने र मानवीय विकासको पक्षहरू जस्तै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरूमा लगानी बढाएका छौँ ।
बुद्धभुमी नगरपालिका क्षेत्रमा सबैभन्दा बढी जोखिम हुने क्षेत्रहरू कुन कुन हुन् ? तयारी के कस्तो रहेको छ ?
हाम्रो पालिकाभित्र सबैभन्दा बढी जोखिम क्षेत्र भनेको नदी कटान हो । त्यस्तै वाणगंगा नदीको छेउछाउको क्षेत्र, कटान केही डुवानको समस्या भएका क्षेत्रहरू छन् । यस्तो अवस्थामा कच्ची घरहरु भत्किने तथा घरहरूमा पानी पस्ने जस्ता समस्याहरू रहेका छन् । स्थानीय सरकारले सकेसम्म जोखिमलाई कसरी कम गर्न सकिन्छ र बिपद्को जोखिमबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा हामी सचेत छौँ । प्रत्येक वर्ष बिपद् व्यवस्थापन गर्नको लागि बजेट विनियोजन गर्ने गरेको र अहिले पनि विपद् व्यवस्थापनका लागि बजेट छुट्टाएका छौँ । बिपद् प्रतिकार्य योजना निर्माण गरेर अगाडी बढेका छौं । जिल्लास्तरको बिपद् व्यवस्थापन समिति र स्थानीयस्तरको बिपद् व्यवस्थापन समितिको बैठक बसेर प्रतिकार्य योजना बनाउने तथा आवश्यक उद्दार सामग्रीहरुको खरिद गरी तयारी अवस्थामा राख्ने लगायतका कामहरु गरेका छौं ।
यहाँको पालिकामा बिपद्लाई सामना गर्नको लागि प्रदेश सरकार र सङ्घीय सरकारको समन्वय कस्तो रहेको छ ?
वास्तवमा भन्ने हो भने बिपद् व्यवस्थापनका लागि प्रदेश सरकार र सङ्घीय सरकारको सामान्य सहकार्य मात्र हो । हाम्रो क्षेत्रमा कटानको समस्या भएकोले यसको जोखिम कम गर्नका लागि जति सहयोग गर्नुपर्ने हो त्यो हुन सकेको छैन् । सामान्य सहयोग छ ।
बुद्धभुमी नगरपालिकाभित्र रहेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरू, मधेशी, मुस्लिम, अति विपन्न, यौनिक तथा लैङ्गिक अल्पसङ्खयक, सीमान्तकृत समुदायले स्थानीय सरकारको अनुभूति गराउने खालका के कस्ता नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुभएको छ ?
बुद्धभुमी नगरपालिकाले नगरवासीको आवश्यकताको पहिचान गरी आवश्यकताको आधारमा नीति, योजना, बजेट तथा कार्यक्रमहरू ल्याएको छ । हामीले भौतिक पूर्वाधार विकास र मानवीय विकासलाई महत्वका साथ अगाडि बढाएका छौँ । भौतिक विकासले मात्र विकास सम्भव हुँदैन भन्ने कुरामा हामी विश्वस्त छौँ । यसरी सबै क्षेत्र र भुगोल, जातजाति र समुदायलाई समेटेर नगरवासीका आवश्यकताहरूको सम्बोधन गरेका छौँ । रगतको अभावका कारण मर्न नपरोस् भनी निःशुल्क रगतको व्यवस्थापन गरेका छौं, त्यस्तै आँखाको समस्या भएका व्यक्तिहरुको लागि निःशुल्क अपरेशनको व्यवस्था मिलाएका छौं । नगरवासीहरुलाई निःशुल्क ल्याव सेवाको लागि बुटवलमा रहेको बुटवल प्याथल्यावसँग सहकार्य गरी ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै किसानलाई बिउ, मलखादमा छुट दिने खालका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडी बढाइएको छ । नगरमा बस्ने हरेक नागरिकलाई समान पहुँच पु¥याउने गरी अगाडी बढेका छौं ।
अन्त्यमा, नगरवासीहरूले अनुभूति गर्ने गरी मानव अधिकार संस्कृतिको विकास गर्न अबका दिनमा यहाँको जवाफदेहीता के हुन्छ ?
स्थानीय सरकार सबै नागरिकको लागि उत्तिकै समान सरकार हो । त्यस कारण बुद्धभुमी नगरपालिकामा बस्ने सबै नागरिकको समान पहुँच र हैसियत हुनुपर्छ । यसका लागि हामी सधैँ सक्रिय र संवेदनशील भएर अगाडि बढेका छौँ । आगामी दिनमा पनि अगाडि बढ्ने छौँ । बुद्धभुमीमा बसेका कुनै पनि नागरिकले हामी अपहेलित भयौँ भन्ने गराउने छैनौँ । यदि कसैलाई हामी छुटियौ कि भन्ने लागेमा हामी सम्बोधन गर्नेछौँ । हामीले सवल बुद्धभुमी बनाउन चाहान्छौँ । नगरवासी कुनै पनि समुदायलाई पाखा लगाएर छोडेर समृद्ध र सवल नगर बन्न सक्दैन भन्नेमा हामी सचेत छौँ । सबैलाई स्थानीय सरकारको अनुभूति गराएर समाजमा रहेका असमानता, विभेदहरूको अन्त्य गरी मानव अधिकार संस्कृतिको विकासमा बुद्धभुमी नगरपालिका अग्रसर भएको छ । यसलाई लक्ष्यसम्म पु¥याउनका लागि यहाँहरूको आलोचनात्मक सुझाव निरन्तर चाहिन्छ ।