रुपन्देही जिल्लाका अधिकांश स्थानीय तहले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट तोकिएकै समयमा पास गरेका छन् । सोही अनुसार रुपन्देहीको सियारी गाउँपालिकाले पनि समयमै नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरिसकेको छ । यसै सन्दर्भमा सियारी गाउँपालिकाका आगामी वर्षका नीति, योजना, कार्यक्रम र बजेटको अवस्था के कस्तो रहेको छ ? नीति कार्यक्रम र बजेटका प्राथमिकता के कस्ता रहेका छन् ? सो विषयमा सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारुसँग मानव अधिकारकर्मी रीमा बिसीले गर्नु भएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
सियारी गाउँपालिकाका आगामी नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिक के कस्ता रहेका छन् ?
सियारी गाउँपालिकाका नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने गरी तय गरिएको छ । जनताका अपेक्षा विकास निर्माणमा बढी लगानी होस् भन्ने चाहाना हुँदोरहेछ । तथापी हामीहरुले पालिकाभित्रका सातओटै वडाका सबै नागरिकलाई समेट्ने गरेर काम अगाडी बढाइएका छौँ । कतिपय कम बजेटका बाबजुद पनि कसरी नागरिकलाई खुशी दिन सकिन्छ भनेर लाग्दालाग्दै पनि खुम्चनुपरेको अवस्था छ । हाम्रो पालिका सबै जातजाति, भाषा, धर्म संस्कृतिले भरिएको रमणीय पालिका भएकोले सबैलाई समेटेर अगाडी बढेका छौँ । जनताका आवश्यकताहरु धेरै छन् तर पनि प्राथमिकताको आधारमा काम गरिरहेका छौं । किसानलाई प्रोत्साहन गर्ने खालका अनुदानका कार्यक्रमहरु रहेका छन् । किसानमैत्री वातावरण निर्माण गर्ने, सबै नागरिकहरुलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने खालका कार्यक्रमहरु रहेका छन् । त्यस्तै सियारीलाई माछाको पकेट क्षेत्रको रुपमा ब्राण्डिङ्ग गर्ने, सबै बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पु¥याउने खालका कार्यक्रमहरु समेटिएका छन् ।
यहाँ आदिवासी, जनजाति, थारु समुदायबाट प्रतिनिधित्व गरिरहँदा काम गर्न कत्तिको सहज रहेछ ?
सुरुका दिनमा त असाध्यै गाह्रो भयो । राजननीति नजानेको मान्छे एक्कासी गाउँपालिकाको उपाध्यक्ष बन्दा कति कठिन भए होला तपाईं आफै अनुमान गर्नुस् । बिस्तारै सिक्दै गर्दै जाँदा आफ्नो काम, कर्तव्य र अधिकारको विषयमा जान्ने बुझ्ने र अभ्यास गरियो । अहिले धेरै सहज भएको छ । आफ्नो काम कर्तव्य र अधिकारको विषयमा जानकारी भएपछि काम गर्न सहज हुँदोरहेछ । सिक्दै गर्दै जाँदा सबैभन्दा बढीका काम प्रमुख प्रशासकीय अधिकृतको हुँदोरहेछ । हामी राजनीतिक दलबाट आएका जनप्रतिनिधिको काम भनेको नीति, योजना तथा कार्यक्रम बनाउने र बजेट पास गरिदिने हो । कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गरिदिने जस्ता काम हामी जनप्रतिनिधिहरुको पर्ने रहेछ । अहिले म निर्वाचित भएर आएको तीन वर्ष पूरा भएर चार वर्षमा प्रवेश गरेको छ अहिले धेरै कुरा बुझियो र सिकिया ।
यहाँ न्यायिक समितिको संयोजक हुनुहुन्छ । न्यायिक समितिमा के कस्ता मुद्दाहरू आउँछन ? न्याय सम्पादन कसरी गरिरहनुभएको छ कत्तिको सहज छ न्याय सम्पादन गर्न ?
हाम्रो सियारी गाउँपालिकाको न्यायिक समितिमा प्रायः जग्गा विवाद, अंशवण्डा, जग्गाको खिचलो, लेनदेन, सम्पत्ति विवाद, पति पत्नी बिचको झैझगडा, खटपट, घरेलु हिंसा, खान लगाउन नदिएको, नागरिकता नबनाइदिएको, मानाचामलका मुद्दाहरू आउने गरेका छन् । न्यायिक समितिले विवादित दुवै पक्षलाई बोलाई छलफलको माध्यमबाट जीतको अवस्थामा पु¥याउने अभ्यास गरेका छौँ । सुरुमा केही पनि थाहा नहुँदा धेरै अप्ठयारो पनि परेको थियो अहिले धेरै सहज भएको छ । अहिले सबै वडामा मेलमिलाप केन्द्र छन् । मेलमिलाप केन्द्र मार्फत छलफल गर्ने र वडास्तरको मेलमिलाप केन्द्रमा नमिलेका मुद्दाहरू गाउँपालिकाको मेलमिलाप केन्द्र अर्थात हामी कहाँ आउँछन् । यसरी हाम्रो काम हुन्छ । वास्तवमा न्याय सम्पादन गर्ने तोडिएका मनलाई जोड्ने काम पटक्कै सजिलो छैन । तर पनि हामीले सक्दो प्रयास गरेका छौँ । हाम्रो काम भनेको मेलमिलाप गराउने हो । हामीले देवानी प्रकृतिका मुद्दाहरु हेर्ने क्षेत्राधिकार भएकोले सहज रुपमा काम गर्न सकिएको छ । पक्षहरु दुबैलाई बोलाएर तारिखमा राखेर भएपनि संविधानले दिएको अधिकारको भरपुर सदुपयोग गरेर अगाडी बढेका छौं ।
लैङ्गिकमैत्री बजेट निर्माण गर्न र पिछडिएका वर्ग समुदायको न्यायमा पहुँच बढाउनका लागि यहाँको कत्तिको समन्वय र सहकार्य हुन्छ ?
लैङ्गिकमैत्री बजेट निर्माणका लागि त्यत्ति सजिलो छैन । यसका लागि धेरै सङ्घर्ष गर्नुपर्छ । मानवीय विकास भनेको बाटोघाटो बनाउने भवनहरू निर्माण गर्ने भन्ने बुझाइ छ । मानवीय विकासको सवालमा त्यत्ति बजेट प्राथमिकतामा पर्दैन । जनताले पनि भौतिक पूर्वाधार विकासको पाटोमा बढी नीति योजना र कार्यक्रम बनुन् भन्ने अपेक्षा राख्दछन् । मानवीय र सामाजिक विकासका क्षेत्रमा पनि यस्ता खालका कार्यक्रम गर्नुपर्छ भन्दा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरू र केही जनप्रतिनिधिहरूले सहयोग गर्नुहुन्छ । हाम्रो पालिकामा राजनीतिक प्रतिनिधित्वका हिसाबले एउटै पार्टीको भएर पनि सहज छ । मैले यसो गरौँ भनेको विषयमा अध्यक्षले पनि अहिलेसम्म समन्वय र सहकार्य गर्ने गर्नुभएकै छ । महिला भएकै कारण कहिलेकाहीँ अप्ठयारो पनि छ । त्यसलाई निरन्तरता दिइरहेका छौँ । जसले गर्दा यो सम्भव भयो । हामी सियारी गाउँपालिकालाई पर्यटनको हिसाबले विकास गर्न खोज्दैछौ यसलाई सबै जनता, राजनीतिक दलहरुसँग मिलेर अगाडी बढेका छौं ।
भर्खर निर्वाचन जितेर आउँदाको उपाध्यक्ष तारा थारु र अहिलेको उपाध्यक्ष तारा थारु आफूलाई विश्लेषण गर्दा कस्तो पाउनुहुन्छ ?
सुरुमा आउँदो कस्तो ठाउँमा आएछु, केही बोल्न नि जाँन्दैन के काम गर्नुपर्छ कसरी गर्नुपर्छ केही थाहा नभएको उपाध्यक्ष तारा थारु थिएँ । यो कुर्सीमा आएपछि मेरो जिम्मेवारी धेरै रहेछ भन्ने कुरा बुझ्ने अवसर भयो । बुझदै जाँदा, काम कर्तव्य र अधिकार क्षेत्रका कुरा जान्ने अवसर अनुशासनका कुरा यो कुर्सीले सिकायो । जसले गर्दा अहिलेसम्म विवादरहित भएर काम गर्न सक्ने प्रेरणा मिल्यो । पहिला केही थाहा थिएन अहिले धेरै बुझ्न सक्ने निर्णय लिन सक्ने तारा थारु भएको छु । आफूले आफैलाई परिवर्तन गरेको हेर्दा आफैप्रति गर्व लाग्छ ।
गाउँपालिका भित्र रहेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरू, मधेशी, मुस्लिम, अति विपन्न, यौनिक तथा लैङ्गिक अल्पसख्यक, सीमान्तकृत समुदायले स्थानीय सरकारको अनुभूति गराउने खालका के कस्ता नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुभएको छ ?
गाउँपालिकाले पालिकाबासीको आवश्यकताको पहिचान गरी आवश्यकताको आधारमा नीति, योजना, बजेट तथा कार्यक्रमहरू ल्याएको छ । हामीले भौतिक पूर्वाधार विकास र मानवीय विकासलाई महत्वका साथ अगाडि बढाएका छौँ । भौतिक विकासले मात्र विकास सम्भव हुँदैन भन्ने कुरामा हामी सचेत छौँ । त्यसकारण भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लगेका छौँ । यसरी सबै क्षेत्र र भुगोल, जातजाति र समुदायलाई समेटेर पालिकावासीका आवश्यकताहरूको सम्बोधन गरेका छौँ । एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरु, युवा, मुस्लिम लगायतका सबै लक्षित वर्गलाई समेट्ने खालका कार्यक्रमहरु अगाडी सारेका छौँ । युवा उद्यमशिलता र सीपसँग जोडने खालका कार्यक्रमहरु अगाडी बढाएका छौं ।
अन्त्यमा, पालिकावासीहरूले अनुभूति गर्ने गरी मानव अधिकार संस्कृतिको विकास गर्न अबका दिनमा यहाँको जवाफदेहिता के हुन्छ ?
स्थानीय सरकार सबै नागरिकको लागि उत्तिकै समान सरकार हो र स्थानीय नागरिकका गुनासा सुन्ने र गुनासाहरुको सम्बोधन गर्ने सरकार भएकोले गाउँपालिकामा बस्ने सबै नागरिकहरुको समान पहुँच र हैसियत हुनुपर्छ र यसका लागि हामी सधैँ सक्रिय र संवेदनशील भएर अगाडि बढेका छौँ र आगामी दिनमा पनि अगाडि बढ्ने छौँ । गाउँपालिका सबैलाई स्थानीय सरकारको अनुभूति गराएर समाजमा रहेका असमानता, विभेदहरूको अन्त्य गरी मानव अधिकार संस्कृतिको विकासमा यसलाई लक्ष्यसम्म पु¥याउनका लागि यहाँहरूको आलोचनात्मक सुझाव निरन्तर चाहिन्छ ।