INSEC Online

📅 २०८३ जेष्ठ २१

अपेक्षा जति थियो त्यो अनुसार काम भएको छैन

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ताराखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयनमा कसरी काम गरिरहेको छ त भन्ने सन्दर्भमा इन्सेक जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलले न्यायिक समितिका संयोजक समेत रहनु भएका ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकासँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

न्यायिक समितिमा कस्ता प्रकारका समस्याहरु आउने गरेका छन् ?
गाउँपालिकाको स्थापनासँगै त्यसभित्र बन्ने संरचना निर्माण हुने कुरामा हाम्रो गाउँपालिकामा पनि भएका छन् । अहिलेसम्मको अवस्था हेर्ने हो भने स्थानीय न्यायिक समितिमा धेरै मात्रामा घरेलु झगडाका उजुरीहरु आउने गरेका छन् । घरेलु हिंसाजन्य घटनाहरुको संख्या नै अधिक देखिएको अवस्था हो र बढी मात्रामा पति÷पत्नीका झगडाका उजुरीहरु आउने गरेका छन् । यस बाहेक लेनदेनका उजुरीहरु पनि कहिलेकाँही आउने गरेका छन् ।

समस्या आएपछि कुनै प्ररकारले समाधानका लागि दबाब आउँछ कि?
अहिलेसम्मको अवस्था हेर्दा यहाँ उजुरी आए पनि कुनै प्रकारको दबाब भने आएको छैन । पीडितले आफूले न्याय पाएको महसुस गर्ने गरेकैले हुनपर्छ कुनै पनि प्रकारको दबाबहरु नआएको । हाम्रो पालिकामा पाँच वटा वडा छन् सबै वडामा मेलमिलाप केन्द्र छन् । हामीले आफ्नो पालिकाको केन्द्रमा दर्ता भएका सबै उजुरीहरु वडामै मेलमिलापका लागि पठाउने गर्दछौं । अधिकांश उजुरीहरु वडाकै मेलमिलाप केन्द्रमा समाधान हुने र मिलापत्र हुने गर्दछन् । यदी त्यहाँ समाधान भएन भने पुनः गाउँपालिकाको न्यायिक समितिमा आउने र मात्रै समस्या समाधान प्रयास गर्ने गरेका छौं ।

बजेट निर्माण, महिलामैत्री कानुन निर्माण तथा लक्षित वर्गको लागि बजेट निर्माणका लागि के कस्तो प्रयास हुने गरेको छ ?
राज्यले बनाएको एउटा नीति र नियम छ । त्यहीमा टेकेर हामी अगाडी बढ्ने गरेका छौं । हाम्रो पालिका भित्रको अवस्था हेर्ने हो भने महिला, बालबालिका तथा लक्षित वर्गलाई के कस्तो बजेट छुट्याएको छ भनेर प्रश्न सबैले गर्दछन् । तर हामी निर्वाचित भएर आउनु भन्दा पहिला नै कार्यविधि बनाएको रहेछ । अहिले त्यस्तो नयाँ बनाइएको छैन । मैले नढाँटी भन्ने हो भने यो क्षेत्रमा भएको कामको सन्दर्भमा म आफै खुशी छैन । जति हुनु पर्ने हो त्यो अनुसार हुन सकेको छैन । जातजाति, भाषा धर्म लगायतका विषयमा केही मात्रामा भएको छ तर जे जति हुन पर्ने हो र मेरो अपेक्षा जति थियो त्यो अनुसार काम भएको छैन ।

महिला पुरुषलाई हेर्ने दृष्टिकोणमा फरक छ कि के छ? यहाँले के कस्तो अनुभव गर्नुभएको छ?
¬अन्यत्र के कस्तो होला भनेर सोच्ने भन्दा पनि यहाँ निकै फरक माहौल छ । उपाध्यक्ष पद महिलाको हो भन्ने खालकै बुझाइ गाउँमा थियो । मलाई चुनावमै पनि महिला हुनु पर्ने पदमा उपाध्यक्षमा पुरुष किन आएको भन्ने पनि गरे तर मैले लैंगिक हिसाबले मात्रै भन्ने होइन । महिला नै अध्यक्ष हुन पनि सक्छन् भनेर सम्झाउने प्रयास गरेको हो जनतालाई । महिला तथा बालिकाहरुको पक्षमा मैले धेरै काम गरेको छु । बरु महिला नै उपाध्यक्ष भएको भए नहुन सक्थ्यो होला मेरो कार्यकालमा धेरै भएको छ । आफूले सक्ने भारी राम्रोसँग बोक्ने हो नसक्ने भारी बोक्नेतर्फ लाग्ने नै होइन भन्ने सोचेरै मैले गर्न सक्ने र मिल्ने कामका लागि भने धेरै प्रयास गरेको छु ।

गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य तथा खानेपानीको समस्या के कस्तो छ?
समग्रतामा हेर्दा र भौगोलिक अवस्था हेर्ने हो भने पनि हाम्रो गाउँपालिकामा खानेपानीको अवस्था राम्रो मान्नु पर्छ । गाउँपालिकाको कुल घरधुरी मध्ये झण्डै ९० प्रतिसत खानेपानीको पहुँचमा छन् । स्वास्थ्यको क्षेत्रमा पनि सन्तोषजनक छ, मृत्युदर घटाउने, बाल मृत्युदर शुन्य राख्ने, पोषणको अवस्था सुधारका लागि प्रयास भएको छ । केही नपुग भए के कति भन्ने तथ्य सहितको आधार बनाउन तर्फ लाग्ने सोच अनुसार नै अगाडी बढिएको छ । शिक्षाकको क्षेत्रमा, भौतिक, व्यवस्थापकीय, शैक्षिक सुधार, आर्थिक व्यवस्थापनमा सुधार पनि आवश्यक हो ।

महिला, बालबालिका तथा मानव अधिकार मैत्री कानुन बनाउने सन्दर्भमा के छ?
सबै क्षेत्रमा क्षमता बढाउनका लागि क्षमता अविबृद्धि तालिम दिइएको छ । स्थानीय उत्पादनलाई व्यवस्थित तवरले प्रशोधन गरेर बजारीकरण गर्नका लागि यहाँ उत्पादन हुने सामग्रीकै प्रशोधनको तालिम प्रदान गर्ने गरिएको छ । कतिपय कानुन निर्माण भइसकेका छन् भने आवश्यकता अनुसारका कानुन बनाउनका लागि प्रयास नहुने कुरै भएन । ताराखोला गाउँपालिकामा रहेको बालबालिकाको हकमा महिला तथा बालबालिका शाखाले हेर्ने गरेको छ । बाल सञ्जाल गठन गरिएको छ । बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको पनि तयारी हामीले गर्नु नै छ भने हामीले सबै न्यूनतम मापदण्डहरु पुरा गर्ने सन्दर्भमा कुनै कसर बाँकी छाडेका छैनौ ।

भिडियो