INSEC Online

📅 २०८३ जेष्ठ २१

बढ्दो कुपोषणका कारण बालबालिका जोखिममा, दुई महिने शिशुको मृत्यु

जिल्लाका दुर्गम गाउँमा बालबालिकामा कुपोषण गम्भीर समस्या बनेको छ । जगन्नाथ गाउँपालिका–२ मल्लोहुनीका भावना बिष्टकी दुई महिनाकी छोरीको कुपोषणका कारण मृत्यु भएको जिल्ला अस्पताल, बाजुराका डाक्टर प्रकाश बुढाले बताउनु भयो ।

दुई महिनाकी बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणबाट पीडित दुई महिने बालिकालाई गम्भीर अवस्थामै अस्पताल ल्याइएको भए पनि शिशुको उपचार सम्भव नभएपछि मृत्युभएको डाक्टर बुढाले बताउनु भयो ।

यसैबीच स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा मात्रै १४ जना भन्दा बढी बालबालिका गम्भीर कुपोषणको अवस्थामा छन् । तथ्याङ्कमा नराखिएको भए पनि कैयौं बालबालिकाको मृत्यु कुपोषणकै कारण भइरहेको स्थानीयहरुको भनाइ छ ।

दुर्गमता, स्वास्थ्य संस्थासम्मको कमजोर पहुँच, सेवाको न्यून प्रभावकारिता र गरिबी कुपोषणको मुख्य समस्या भएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताउनु भयो । धेरै कारण मध्ये गरिबी कुपोषणको मूल कारण रहेको उहाँले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको ‘स्मार्ट सर्भे’ अनुसार बाजुरा जिल्लामा कुपोषणको दर राष्ट्रिय औसत भन्दा उच्च छ । पाँच वर्षमूनिका बालबालिकामाथि गरिएको सर्वेक्षणमा पुड्कोपन ४८.८%, ख्याउटेपन ८.६% र कम तौल ३०.६% देखिएको थियो । औसतमा ४८% बालबालिका कुपोषणग्रस्त छन् ।

कुपोषणसँगै जिल्लामा आमाहरूमा पाठेघरसम्बन्धी समस्या र रक्तअल्पता जस्ता समस्याहरू व्यापक छन् । असुरक्षित सुत्केरी, बारम्बार सन्तान जन्माउने प्रवृत्तिले समस्या झन गम्भीर बनाएको छ ।

बालबालिकाको कुपोषणका कारण बर्सेनि दर्जनौं मृत्यु हुने गरे पनि राज्यको तर्फबाट दीर्घकालिन समाधानका लागि उल्लेख्य लगानी नभएको  जिल्ला खाद्य अधिकार सञ्जाल, बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताउनु भयो ।

जिल्ला  स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख महेश चन्दले मातृ तथा शिशु मृत्युको यथार्त तथ्याङ्क जिल्लास्तरीय संस्थाहरुसँग नहुँदा व्यवस्थापनमा थप चुनौती भइरहेको बताउनु भयो ।

अन्य

भिडियो