यही मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनका बेला निर्वाचनलाई सहयोग हुने गरी आवश्यक तयारीमा रहन निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ ।
आयोगले मङ्सिर ३ गते एक विज्ञप्ति जारी गर्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको हो । सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भयो ।
त्यसका साथै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत गर्न, खानेपानी, शौचालय, विद्युत, सञ्चार आवतजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा तथा कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गतामैत्री बनाउन यथासम्भव प्रयत्न गर्नसमेत निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकार, प्रदेश सरकारको नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधनहरु, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहन साधन र अन्य विद्युतीय उपकरणहरु मर्मत संभार गरी ठीक दुरुस्त अवस्थामा राख्न र स्थानीय तह उपनिर्वाचनको कामको लागि आवश्यकताअनुसार प्रयोग गर्न व्यवस्था गर्न पनि आयोगले आग्रह गरेको छ ।
उपनिर्वाचनका क्रममा कार्य सम्पादनमा स्थानीय तहमा रहेका कर्मचारी पनि खटाउन सकिने कानुनी व्यवस्था बमोजिम कर्मचारीको विवरण अद्यावधिक गरी राख्ने र निर्वाचन प्रयोजनको लागि माग भएका बेला तत्काल उपलब्ध गराउने अवस्था रहने हुँदा सो विषयमा पनि आयोगले स्थानीय तहलाई सचेत गराएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरुले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्याउने गरी कुनै कार्य गर्न नपाउने, स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य जुनसुकै भौतिक साधन प्रयोग गर्न रोक लगाउने जनाएको छ ।
आयोगको वेबसाइटमा प्रकाशित निर्वाचन प्रचारप्रसार सामग्रीहरु यथासम्भव समयमै मतदाता समक्ष पुर्याउने, आयोगबाट लागू भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरुले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटन लगायतका कार्य गर्नमा समेत रोक लगाएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ बमोजिम स्थानीय कार्यपालिका तथा सोका पदाधिकारी एवम् स्थानीय तह र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको पूर्ण पालना गर्ने गराउने र कहीँ कतैबाट आचारसंहिता विपरित कार्य भए गरेमा कारवाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिनुपर्ने कार्यालयले जनाएको छ ।