मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४ सय ७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र ४२ पदका लागि विभिन्न राजनीतिक दलबाट २ सय ८६ र स्वतन्त्रबाट १ सय २१ गरेर ४०७ जनाको उम्मेदवारी दर्ता भएको हो ।
जसमा ६४ जना महिला, ३ सय ४१ जना पुरुष र २ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उम्मेदवारी दर्ता भएको आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले जानकारी दिनुभएको छ ।
आयोगका अनुसार सोबाहेक थप दुई पदका लागि कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई जना महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनानयन दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार गोरखा नगरपालिका–१० मा मङ्सिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि १० जनाले उम्मेदवारी दिएका छन् । नेशनल रिपब्लिक नेपालबाट सिवना तामाङ, नेकपा माओवादी केन्द्रका विष्णु वहादुर राना मगर, नेकपा एमालेकी दुर्गा मायाँ थापा राना, नेपाली कांग्रेसका भाइकाजी आल उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना राना, राप्रपा नेपालका रुपसिंह राना, राष्ट्रिय स्वतन्त्र पार्टीका मंगल वहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका भवानी थापा मगर, नेकपा(एस)बाट खड्ग वहादुर भुजेल र नेपाल समाजवादी पार्टी बाट रुपेश मग्रातीले उम्मेदवारी दिएका छन् ।
गोरखा नगरपालिका–५ मा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । २०७९ को निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष खिल वहादुर रानाको निधन भएपछि उपनिर्वाचन हुन लागेका हो ।
दोलखा प्रतिनिधि उद्धवप्रसाद पोखरेलका अनुसार गौरीशंकर गाउँपालिकामा हुने उपाध्यक्ष पदको उपनिर्वाचनका लागि १६ जनाको मनोनयन दर्ता भएको छ ।
मनोनयन दर्तामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र नौ जना स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि माओवादी केन्द्रबाट निम लेकी शेर्पा, एमालेबाट उमा लुङ्गेली मगर शेर्पा, कांग्रेसबाट पासदिकी शेर्पा, रास्वपाबाट गोमा श्रेष्ठ, नेकपा एसबाट रविना खड्का, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्काको उम्मेदवारी परेको छ ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नौ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा अप्सरा विश्वकर्मा, अम्विका श्रेष्ठ, दिपक तामाङ, दिलबहादुर बस्नेत, द्धारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पा रहेका छन् ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार ककनी गाउँपालिका–२ मा हुन लागेको वडाअध्यक्ष पदको उपनिर्वाचनका लागि ११ जनाले उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङ, नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्धी लामा तामाङ, नेमकिपाका माइलीमाया तामाङ, नेकपा एसका मानबहादुर लामा तामाङ, नेकपा एमालेका यमबहादुर लामा, नेपाली कांग्रेसका सूर्य तामाङ, स्वतन्त्र उम्मेदवार रमेश पुडासैनी र सोनु तामाङले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ प्रतिनिधि पार्वती साउदका अनुसार यही महिनाको १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मङ्सिर ३ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मङ्सिर ४ गते निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मङ्सिर ४ गते नै प्रकाशित गर्ने छ।
त्यस्तै मङ्सिर ५ गते उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यसूची रहेको छ।