INSEC Online

📅 २०८३ जेष्ठ २२

स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक

विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ ।

निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक दल दर्ताको अवधि असोज १० गतेदेखि १६ गतेसम्म तोकेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा तालिम तथा क्षमता विकासका कार्यक्रम गर्ने कार्ययोजना बनाएको छ ।

कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदातास्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापन गर्ने, मङ्सिर २ गतेदखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरिएको  प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।

मङ्सिर १६ गते स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचन गर्नका लागि भदौ ३० गतेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो ।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनमा सरकारलाई आयोगले परामर्श दिनुपर्ने व्यवस्था गरेकाले परामर्श दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताउनु भयो ।

Press_Release_2081_06_02_Workplan

अन्य

भिडियो