राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवम् सम्मानित गर्दै उहाँहरूको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेको राससले जनाएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवम् सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गरेकी हुन् ।
“जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पुर्याउनुभएका ज्येष्ठ नागरिक निश्चय नै राष्ट्रका अमूल्य सम्पत्ति हुनुहुन्छ । ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व रहन्छ ।”-सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट समाजिक सुरक्षा भत्ता एवम् विभिन्न सेवा सुविधासमेत प्रदान गरिँदै आएकामा उनले सराहना पनि गरिन् ।