महिला मानव अधिकार रक्षक तथा महिला हिंसा विरूद्धको अभियानकी अभियन्ता राजकुमारी उपाध्यायलाई कथित बोक्सीको आरोप लगाई कुटपिटका साथै दुर्व्यवहार गरेको विरोधमा असोज १० गते काठमाडौँमा अधिकारकर्मीले विरोध र्याली प्रदर्शन गरेका छन् ।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला दबाव राष्ट्रिय अभियान, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाका निम्ति महिला मञ्च लगायत महिला अभियन्ताहरूको संयुक्त आयोजनामा र्याली प्रदर्शन गरिएको हो ।

बबरमहलबाट सुरू भएको र्याली बानेश्वरसम्म पुगी कोणसभामा परिणत भएको हो । कोणसभालाई सम्बोधन गर्दै ओरेकका संस्थापक अध्यक्ष तथा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा. रेणु अधिकारीले कथित बोक्सीको आरोपमा यसरी महिला मानव अधिकार रक्षक तथा महिला अधिकारकर्मी स्वयम्लाई अमानवीय व्यवहार गरिनु दुःखद भएको बताइन् ।
नेपालको संविधानको मौलिक हक र कर्तव्यले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गरेको जानकारी गराउँदै उनले यसरी एक महिलालाई कथित बोक्सीको आरोप लगाएर गरिएको अमानवीय व्यवहारबाट संविधानले प्रदान गरेको हकको समेत उल्लङ्घन भएको बताइन् ।
यस घटनाले नेपाल सरकारको प्रहरी संरचनाले नेपाली महिला तथा नागरिकलाई नै जिस्क्याएको विचार व्यक्त गरिन् । महिलामाथि हुने हिंसाविरूद्ध आवाज उठाउन कुनै पनि चार्डपर्वले नरोक्ने भन्दै डा. अधिकारीले दोषीलाई कारबाही नभएसम्म निरन्तर रूपमा विरोध कार्यक्रम जारी राखिने जानकारी दिइन् ।
राजकुमारी उपाध्यायलाई असोज ७ गते मध्यरातमा सुतिरहेकै अवस्थामा सशस्त्र प्रहरीका भोगेन्द्र कार्की र उनकी श्रीमतीलगायतले कथित बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरेका थिए । उपाध्याय महिला मानव अधिकार रक्षकहरूको पर्सा जिल्ला सञ्जालकी सदस्य तथा महिला हिंसा विरूद्धको अभियानमा लामो समयदेखि आबद्ध रहेको महिला अधिकारकर्मी सञ्जिता तिमल्सिनाले बताइन् ।
नेपाल सरकारले कुनै पनि व्यक्तिलाई ‘बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै पनि किसिमले यातना दिने जस्ता अमानवीय कार्यलाई दण्डनीय बनाई सामाजिक कुरीति तथा अन्धविश्वासको रूपमा रहेको त्यस्तो कार्य निवारण गर्न बोक्सीको कसुर तथा सजाय ऐन, २०७२’ समेत लागु गरेको छ ।
यद्यपी नागरिकको न्यायको रक्षा गर्ने स्वयम् व्यक्तिबाट नै यस्तो किसीमको हिंसा हुनु निन्दनीय र लज्जास्पद घटना हो भन्दै उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्दै विरोध र्याली प्रदर्शन गरिएको सहभागीहरूले बताए ।