INSEC Online

📅 २०८३ जेष्ठ २१

चेक साट्न तीन दिन पैदल, स्थानीय मार्कामा !

स्थानीय सरकारले काम सुरु गरेको झण्डै दुई कार्यकाल वित्न लाग्यो । स्थानीय सरकार आएपछि जनताले सुख पाउँछन् गाउँगाउँमा सिंहदरबार आउँछ भने पनि जनताको सास्ती ज्यूँको त्यूँ छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाँउपालिकाका स्थानीय बैकिङ्ग कारोबार गर्न मात्र तीन दिन पैदल हिँड्नु पर्छ । नेपाल सरकारले स्थानीय तहमा नै बैंकिङ सेवा पुर्‍याउने लक्ष्य राखेको भएता पनि अहिलेसम्म साइपाल गाँउपालिकामा बैंक सेवा पुर्‍याउन नसक्दा सेवाग्राही मार्कामा परेका छन् ।

साइपाल गाँउपालिकाको काँडा घर भएका प्रदिप बोहराका अनुसार गाँउपालिकाबाट चेक लिएर चैनपुर जान हिँड्न सक्ने मानिसलाई तीन दिन र कमजोर मानिसहरुलाई चार दिन लाग्छ । एक पटक सदरमुकामसम्म पुगेर फेरि गाउँ फर्किन मात्रै आठदेखि १० दिन लाग्छ । बोहराले भन्नु भयो ‘सरकारले सबै स्थानीय तहहरुमा बैंक स्थापना गर्ने भनेर भनेको सुनेका थियौँ तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन् । १० हजार रुपियाँको चेक साट्न परेमा ६ हजार रुपियाँ भन्दा बढी खर्च सदरमुकाम चैनपुर जाँदा र आउँदा बाटोमा नै हुन्छ ।’

साइपाल गाउँपालिका धलौनका घुरन बोहराले १५ हजार रुपियाँको चेक साट्नका लागि चैनपुर आउनु भयो । उहाँ तीन दिन हिँडेर चैनपुर आइपुग्नु भयो । उहाँलाई फर्किन अब फेरि तीन दिन नै लाग्छ । चैनपुर आइपुगेको दिन नै उहाँले चेक साट्न भ्याउनु भएन् । बैंकमा भीड थियो । उहाँलाई चेक साट्न भोलिसम्म बस्नु पर्ने भयो । सदरमुकाम चैनपुरमा भेटिनुभएका बोहराले भन्नु भयो, ‘मैले १५ हजारको चेक साट्नका लागि आँठ दिन लगाएको छु । आठ दिनमा ८ हजार रुपियाँ खर्च भइसकेको छ ।’

साइपाल गाँउपालिकामा अहिलेसम्म इन्टरनेटको पनि सुविधा छैन् । बैंक तथा यातायात सुविधा पनि छैन् । साईपाल गाँउपालिकाका अध्यक्ष मानबहादुर बोहराले भन्नु भयो, ‘हामीले गाँउपालिकामा बैंक स्थापनाको लागि पहल गरेका छौँ । यो महिनाको अन्तिम साता तिर बैंक स्थापना गछौ ।’ बैंक स्थापना गरी सेवा सञ्चालन गरेपछि यस क्षेत्रका स्थानीयहरुले सहजै रुपमा सेवा पाउने अध्यक्ष बोहराको भनाइ छ ।

photo20240530bajhang

अन्य

भिडियो