INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे छ ।

तातोपानी गाउँपालिकाले दुर्गम वडा नम्बर ७ र ८ का गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । आउन जानमै बढी खर्च हुने भएपछि ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई गाउँमै भत्ता वितरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनु भयो ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण अनिवार्य बैंकिङ प्रणाली मार्फत लिनु पर्ने प्रावधान बनाएको छ । तर हिमाली जिल्ला दुरदराजका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक अशक्त अपाङ्गता भएका व्यक्ति बैंकको पहुँचमा पुग्न सक्ने सम्भावना छैन ।

यस्तै समस्यालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष चौलागाईले बताउनु भयाे ।

तातोपानी गाउँपालिकाको भेरीखोला क्षेत्रमा पर्ने ७ र ८ नम्बर वडाका ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर तेस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

घरदैलोमै भत्ता वितरणका लागि तातोपानी गाउँपालिका अध्यक्ष चौलागाई, उपाध्यक्ष रेवती रावल, प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायत, लेखापाल र ग्लोबल आईएमई बैंकका कर्मचारी सहितको टोली भेरीखोला क्षेत्रमा पुगेको छ ।

जस अन्तर्गत पहिलो दिन वैशाख ३१ गते वडा नम्बर ७ का ६८ वर्ष माथिका ३८ जना ज्येष्ठ नागरिक र ६ जना अपाङ्गता भएका व्यक्ति गरी ४४ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष चौलागाईले बताउनु भयो ।

Photo20240514Jumla

अन्य

भिडियो