छायाँनाथ रारा नगरपालिका –८ वडा कार्यालयमा तीन महिनादेखि सेवा ठप्प भएको छ । वडा अध्यक्ष कर्ण बहादुर रावल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेपछि निलम्बन परेका थिए । तर वडा अध्यक्ष रावल निलम्बनमा परेको तीन महिना पुग्न लाग्दा पनि कार्यवाहक अध्यक्ष नहुँदा स्थानीयहरूले वडा कार्यालयबाट पाउने सेवा सुविधाबाट वञ्चित भएकोे वडा सदस्य चन्द्र बहादुर रावलले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० माघ १६ गते नगरपालिकालाई पत्र पठाएको थियो । ०८० माघ २५ मा नगरपालिकाले आयोगबाट आएको पत्रनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम स्वतः निलम्बन भएको व्यहोरा आयोगलाई जानकारी गराएको थियो तर नगरपालिकाले वडा नम्बर ८ मा कार्यवाहक अध्यक्षको लागि वडा कार्यालयमा कुनै पनि पत्र वा जानकारी नपठाएको वडा नम्बर ८ का दलित महिला सदस्य सुनसरा कामीले बताउनुभयो ।
मुद्दा परेपछि वडा अध्यक्ष निलम्बन भएपछि नगरपालिकाले वडाका सदस्यहरू मध्ये एक जनालाई कार्यवाहक अध्यक्ष बनाउनु पर्ने हो तर अहिले भएको छैन । अहिले कसैलाई लिखित रुपमा काम गर्ने जिम्मेवारी नदिएपछि वडाको काम प्रभावित हुँदै आएको वडा कार्यालयका सामाजिक परिचालक राम सिंह कार्कीले जानकारी दिनुभयो ।
दैनिक पाँच देखि १० जनासम्म सेवाग्राही वडामा आउने तर कार्यवाहक अध्यक्ष नभएको कारण काम बिनानै फर्किने गरेको सामाजिक परिचालक कार्कीले बताउनुभयो ।
आफ्नो छोरी सुमित्रा रावल कोहलपुरदेखि नागरिकता बनाउन आएको तर वडामा सिफारिस लिन नपाएको स्थानीय सेवाग्राही बिस्नु रावलले गुनासो गर्नुभयो । त्यसैगरी, स्थानीय बिउरा रावलले एक महिनादेखि योजना सम्पन्न भएको भुक्तानी लिनको लागि वडा कार्यालयमा आएको तर नपाएको बताउनु भयो । वडा कार्यालयमा म जस्तै धेरै सेवाग्राहीको काम रोकिएको उहाँको भनाइ छ ।
अब निर्णय भइसकेको छ र उक्त निर्णय कार्यपालिकाको बैठकमा पारित गरेर कार्यवाहक अध्यक्ष नियुक्त गरेको सिफारिस केही दिनमै दिने र सेवाग्राहीलाई छिटो सेवा दिइने नगर प्रमुख बिष्णु कुमार भामले बताउनुभयो ।
