नेपाल सरकारको मन्त्रि परिषदको साउन ३१ गते बसेको बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएकोप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सरकारको यो निर्णय कपिलबस्तु जिल्ला अदालतले मानव अधिकार हनन्का दोषी भनी ठहर गरेका व्यक्तिको पक्षमा आएकोले अदालतको आदेशको ठाडो उल्लङघन हो भन्ने समितिको ठहर छ ।’-विज्ञप्तिमा भनिएको छ ।
उक्त अदालतले गोरुसिंहे ब्यारेकमा जनकबहादुर राउतलाई चरम यातना दिएकोमा निज लामालाई दोषी ठहर गरी विभागीय कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिने अदालतले आदेश गरेको थियो । ०६४ साल मंसिर १४ गतेको उक्त आदेशमा भनिएको छ-‘नेपाली सेनाको मुख्यालय र रक्षा मन्त्रालयलाई प्रतिवादी कुमार लामा, शिवदल बटालियन गोरुसिङ्गेका तत्कालिन बटालियन कमाण्डर, लाई यातना क्षतिपूर्ति ऐन २०५३ दफा ७ अनुसार विभागिय कारबाहीका लागि जानकारी दिनु ।’ तर, समितिलाई जानकारी भए अनुसार उक्त फैसलाको कार्यन्वयन भएको जानकारी आजका मितिसम्म पीडित स्वयंलाई छैन ।
‘अदालतको आदेश कार्यन्वयन नभई सकेको अवस्थामा दोषी ठहर भएका व्यक्तिलाई पदोन्नति गर्नु भनेको दण्डहीनतालाई प्रश्रय र कानुनी शासनको उल्लङ्घन गर्नु हो । पीडकको पक्षपोषण गर्नु हो । त्यसैले निज लामाको पदोन्नति तत्काल रोक्न नेपाल सरकारसंग हामी जोडदार अपिल गर्दछौं । साथै कपिलबस्तु जिल्ला आदालतले दिएको आदेश कार्यन्वयन भएको सुचना सम्बन्धित पीडित तथा जिल्ला अदालतलाई दिईयोस भन्ने आग्रह समेत गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ ।
‘स्मरण रहोस शिवदल गारुसिंहे ब्यारेकमा दिइएको यातनामा संलग्न भएको आरोपमा लामा विश्वव्यापी क्षेत्राधिकार’ अन्तर्गत वेलायतमा गिरफ्तार परी करिब ३ वर्ष मुद्दा खेपेका ब्यक्ति हुन् । उक्त अदालतका जुरी समूह अन्तिम नतिजामा नपुग्दै नेपाल सरकारले उनीमाथि उचित कारबाही अघि बढाउने प्रतिबद्धता जनाए पछि वेलायत सरकारले मुद्दा अघि नबढाउने निर्णय गरेको थियो । यसबाट लामा स्वदेश फर्किने बाटो खुलेको हो । उनी निर्दोष ठहर भएका भने होइनन् ।’- जवाफदेहीता निगरानी समितिका संयोजक चरण प्रसाईले भने ।