INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचन ०८१– तीन हजार सुरक्षाकर्मी परिचालन, मुख्य ‘थ्रेट’ पहिचान पक्षधरको गतिविधि

इलाम निर्वाचन क्षेत्र न. २ मा वैशाख १५ गते उपनिर्वाचनमा सुरक्षा समितिले ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालनको तयारी गरेको छ ।

१ हजार ५ सय २३ जना नेपाल प्रहरी, ७ सय १० सशस्त्र प्रहरी, ७ सय नेपाली सेना र अनुसन्धानका १५ जना परिचालन हुनेछन् । जसमा, नेपाली सेना र सशस्त्र प्रहरी भने ‘फिल्ड’मै रहेको समितिले जनाएको छ ।

इलाम निर्वाचन क्षेत्र न.२ का लागि ७९ ओटा मतदानस्थलमा १ सय ४९ ओटा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र न.२ मा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी ६ ओटा स्थानीय तहका ४२ ओटा वडा छन् । यो क्षेत्रमा ५६ हजार ८ सय ६९ जना महिला, ५९ हजार १८ जना पुरुष र लैगिंक तथा यौनिक अल्पसंख्यक दुई जना गरी १ लाख १५ हजार ८ सय ८९ जना मतदाता छन् ।

पहिचान पक्षधरबाट हुनसक्ने गतिविधिलाई सुरक्षा निकायले मुख्य सुरक्षा चुनौती (थ्रेट)का रूपमा लिएको छ । जिल्ला सुरक्षा समितिले पहिचान पक्षधरबाट निर्वाचनलाई आफ्नो पक्षमा पार्न कुनैपनि गतिविधि हुनसक्ने आँकलनसहित ‘विशेष निगरानी’समेत गरिरहेको छ ।

उपनिर्वाचन हुन लागेका ७९ मतदानस्थल सबैलाई सुरक्षा समितिले ‘अति संवेदनशील’ भनेको छ । तर, विशेषगरी माङ्सेबुङ र चुलाचुलीमा पहिचान पक्षधरबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राख्दै प्रशासनले निगरानी बलियो बनाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

‘इलाममा धार्मिक कारणले चाहिँ निर्वाचनलाई चुनौती छैन,’ प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, ‘पहिचानवादीका पनि केही समूहबाट मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास हुनसक्ने, उनीहरूबाट निर्णय आफ्नो पक्षमा नआउने सम्भावना रहेमा डर, धाक–धम्कीको सम्भावना चाहिँ सम्भावित चुनौती बनेको छ ।’

तर, माङ्सेबुङ र चुलाचुलीमा बेग्लै, विशेष सुरक्षा व्यवस्था भने नगरेको उहाँले जनाउनुभएको छ । ‘चुनौती भएपछि बढी वाच गरिरहेका छौं । तर, विशेष योजना नै छैन अहिलेसम्म,’ उहाँले भन्नुभायो, ‘निर्वाचन त शान्तिपूर्ण हुन्छ ।’

उहाँले अब उपनिर्वाचन हुने सबै मतदानस्थल अति संवेदनशील भएपनि अघिल्लो निर्वाचनअनुसार नै वर्गीकरण भने गरिएको जनाउनुभएको छ । ‘अघिल्लो निर्वाचनमा अति संवेदनशील १९, संवेदनशील २१ र सामान्य ३९ मतदानस्थल थिए,’ उहाँले भन्नुभयो, ‘यो पटक पनि त्यही हो तर प्रतिनिधिसभाको उपनिर्वाचन हुनलागेको देशकै एकमात्र क्षेत्र भएकाले बाहिरबाट आउने व्यक्तिको अवस्था आँकलन गरी सबै मतदानस्थललाई अति संवेदनशील नै भनेका छौं ।’

उहाँले भारतको लोकसेवा निर्वाचन पनि यतिबेलै भएको र इलाम सीमाक्षेत्रमै पर्ने भएकाले पनि चुनौती थपिएको बताउनुभएको छ । उहाँका अनुसार सुरक्षाकर्मीको परिचालन पनि अति संवेदनशीलताकै आधारमा गरिएको छ ।

तर, पहिचान पक्षधर नेता भक्तिराज लिम्बूले आफूहरूबाट उपनिर्वाचनमा कुनैपनि चुनौती नरहेको बताए । ‘हामी सडकका मुख्य आन्दोलनकारी नै प्रतिस्पर्धाका लागि निर्वाचनमा आएका छौं,’ उनले बिहीबार इलाममा आयोजित सर्वपक्षीय बैठकमा भने, ‘हामी निर्वाचन शान्तिपूर्ण होस् भन्ने चाहन्छौं, हामी नै चुनावमा आएपछि हामीबाट कुनै चुनौती छैन, निर्वाचन भयरहित हुन्छ ।’

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । तर, जिल्ला सुरक्षा समिति इलामले भने ७९ ओटा सबै मतदान स्थललाई नै अतिसंवेदनशील मानेको छ । सुरक्षा संवेदनशीलताका आधारमा विगतका निर्वाचनहरुमा मतदानस्थलहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरि तीन तहमा वर्गिकरण गरिएकोमा यस उपनिर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा उम्मेद्वारहरुको केन्द्रिकृत गतिविधिहरु रहने साथै अन्य छिमेकी जिल्लाहरुबाट दलका नेता कार्यकर्ताहरु घुसपैठ गरि उत्पन्न हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरि सम्पूर्ण मतदानस्थलहरुलाई अतिसंवेदनशील कायम गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ ।

मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्नेछ । उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १३ गते मात्रै अनुमति दिनुभएको छ । प्रहरी प्रवक्ता ढकालले सबै सुरक्षा निकायसँगको सहयोगमा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउने बताउनुभयो ।

‘बल प्रयोग गर्नुपर्ने स्थितिमा प्रहरीले मतदान अधिकृतसँग समन्वय गरेर जिल्लाको कमाण्ड पोष्टमा जानकारी गराएर सुरक्षा कारबाही गर्नेछ’, उहाँले भन्नुभयो, ‘मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक छाप र निर्वाचन कार्यमा खटिएका कर्मचारीको सुरक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहनेछ ।’

थप जनशक्ति आवश्यक परेपनि तयारी अवस्थामा रहने उहाँले बताउनुभयो । निर्वाचनको समयमा निर्वाचन विरोधी दल र समूहको गतिविधि, जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य, अफवाह फैलाउने, धाकधम्की दिने, अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले त्यसलाई निस्तेज पार्न प्रहरी पूर्ण रुपमा तयार रहेको उहाँको भनाई छ ।

मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्ने समेत उहाँले बताउनुभयो । मतदातालाई अवरोध गरे वा मतदान स्थल वा केन्द्रमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गर्ने ढकालले बताउनुभएको छ ।

अन्य

भिडियो