इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता, २०७९ विपरित गतिविधि बढेर गएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
उम्मेदवारहरूले पानीका बोतलमा निर्वाचन प्रचार सामग्री टाँसेर निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित गरेर वैशाख ६ गते सदरमुकामको चोकबजारमा ‘नो भोट’ भन्दै सयौंको भिडमा निर्वाचन आचारसंहिता विपरितको कार्यक्रम गरिएको छ ।
निर्वाचन आचारसंहिता-२०७९ को परिच्छेद २ दफा ४ (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।
अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका थिए । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन प्रयोगमा ल्याएको इन्सेक निर्वाचन आचारसंहिता अनुगमनका क्रममा पाइएको छ ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’ को सभा वैशाख ६ गते आयोजना गरिएको थियो । सभामा प्रसाईं आफैं सहभागी भए भने उनको स्वागतका लागि ‘पञ्चकन्या’ का नाममा बालबालिका प्रयोग गरिएको अनुगमनका क्रममा पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी वासुदेव खतिवडाले निर्वाचनविरोधी क्रियाकलापलाई कडाई गरिएको बताउनु भयो । तर, चोकबजारमा सयौँ सुरक्षाकर्मीको घेरामा चलाइएको नो भोटको कार्यक्रमको इन्सेकले अनुगमन गरेको छ ।
पानीका बोतलमा निर्वाचन प्रचार सामग्री
नो भोटको कार्यक्रममा स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन्द्र साहको फोटो अङ्कित गरी आफ्नो निर्वाचन चिन्ह डोजरको प्रचार गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







