INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचन ०८१- इलाम निर्वाचन क्षेत्र न.२ मा मतदाता शिक्षा सुरू

इलाम निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि वैशाख ६ गतेदेखि मतदाता शिक्षाको सुरूआत गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने ६ ओटा स्थानीय तहमा  एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकी ति व्यक्तिमार्फत् स्वास्थ्य स्वयमसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरेको छ ।

आगामी ०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आगामी वैशाख ११ गतेसम्म सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रमका लागि इलाम निर्वाचन क्षेत्र न.२ मा ८६ जना स्वास्थ्य स्वयमसेविकालाई परिचालन गरिएको छ ।

प्रत्येक निर्वाचन सम्पर्क व्यक्तिले आफ्नो स्थानीय तहमा खटिने स्वयमसेविकालाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरेर मतदाता शिक्षाका लागि परिचालन गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इलाम नगरपालिकामा २२ जना, देउमाई नगरपालिकामा १९ जना, माई नगरपालिकामा ६, फाकफोकथुम गाउँपालिकामा १४ जना, चुलाचुली गाउँपालिकामा १३ जना र माङ्सेबुङ गाउँपालिकामा १२ स्वयमसेविका मतदाता शिक्षाका परिचालन भएका छन् ।

‘एक्लो र टाढा घर छ भने घरैमा पुगेर, सम्भव भएसम्म टोल-टोलमा भेला गराएर मतदाता शिक्षा दिनु भनिएको छ,’ फाकफोकथुम गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति माधवप्रसाद दाहालले भन्नुभयो, ‘हाट बजार, विवाह, ब्रतबन्ध, पुराणजस्ता धार्मिक कार्यमा पनि धेरै मानिस भेला भएका स्थानमा मतदाता शिक्षा दिनु भनिएको छ ।’

कोही भोट हाल्दिनँ भन्छ भने उसलाई पनि प्रत्येक भोटको महत्व बुझाउन स्वयसेविकाहरूलाई आग्रह गरिएको छ ।

स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति र मतदाता शिक्षा दिने स्वयसेविकासँग पनि सोझो सम्पर्क भएकाले मतदाता शिक्षा प्रभावकारी हुने आशा गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनु भयो ।

इलाम निर्वाचन क्षेत्र न.२ का ६ ओटा स्थानीय तहका ४२ ओटा वडामा वैशाख १५ गतेका लागि मतदान मिति तोकिएको छ ।

इलाम निर्वाचन क्षेत्र न.२ मा ५६ हजार ८ सय ६९ जना महिला, ५९ हजार १८ जना पुरूष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुई जना गरी १ लाख १५ हजार ८ सय ८९ जना मतदाता छन् ।

Photo 20240418 1 Ilam

अन्य

भिडियो