INSEC Online

📅 २०८३ जेष्ठ २१

गोकुलेश्वर अस्पतालका स्वास्थ्य उपकरण मर्मत नहुँदा बिरामीहरुको चेकजाँच तथा उपचारमा समस्या

शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर अस्पतालमा रहेको एक्सरे मेसिन विग्रिएको दुई महिना वितिसक्दा समेत मर्मतसम्भार नहुँदा स्थानीयहरुको उपचार सेवा नै प्रभावित हुदै आएको छ ।

‘एक्सरे मेसिन नहुँदा बिरामीको चेकजाँच हुन सकेको छैन्,’ गोकुलेश्वर अस्पतालका डाक्टर मनोज पालले भन्नु भयो, ‘बिरामी आउँदा सिधैं बाहिर पठाउनु पर्ने अवस्था छ ।’ अस्पतालमा रहेको एक्सरे मेसिन पनि वैशाख ४ गतेदेखि चलेको छैन् । उपकरणहरु दिनप्रतिदिन बिग्रिदै गएपछि यस क्षेत्रका सेवाग्राहीहरुले समस्या भोग्नुपरेको छ ।

बिरामीको रगत परीक्षण गर्ने उपकरण (कुल्टर) पनि विग्रिएको लामो समय भइसक्यो । अस्पतालमा रहेका सबै उपकरण विग्रिदा बिरामीको चेकजाँच गर्न समस्या भएको र विग्रीएका स्वास्थ्य उपकरणहरुको मर्मतसम्भारतर्फ ध्यान जाननसकेको डाक्टर पालको भनाइ छ ।

शैल्यशिखर नगरपालिका अन्तर्गत रहेको गोकुलेश्वर अस्पतालको उपकरण विग्रिए पनि मर्मत सम्भार हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यो अस्पतालमा जिल्लाका मालिकार्जुन, नौगाड, अपिहिमाल र मार्मा गाउँपालिकाको साथै बैतडी जिल्लाको डिलाशैनी क्षेत्रका अधिकांश बिरामी यहि उपचार गराउँछन् ।

स्वास्थ्य उपकरणहरुको व्यवस्थापन तथा मर्मतसम्भार गर्नका लागि स्थानीय सरकारले समयमै ध्यान नदिएका कारण नागरिकहरुले स्वास्थ्य चेकजाँच गर्न सास्ती खेप्नुपरको स्थानीय राजेन्द्र पन्तले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘हामीले समयमै अस्पतालका उपकरण व्यवस्थापन र औषधिको लागि स्थानीय सरकारलाई आग्रह गरेका छौँ । पहल गर्छौँ भन्नु भएको छ । अस्पतालमा औषधि अभाव हुँदै गइरहेको छ । स्थानीय तहका स्वास्थ्य संस्थामा पनि प्रयाप्त औषधि छैन् । अस्पतालको समस्या बारे हामीले खबरदारी गरेका छौँ ।’

शैल्यशिखर नगरपालिका–२ का चक्रमान विक गोकुलेश्वर अस्पतालमा सामान्य औषधि समेत नपाउँदा आफ्नो बुवाले ज्यान गुमाएको दाबी गर्नु भयो । यति ठूलो अस्पतालमा सामान्य औषधि नपाउनु विडम्बना छ, उहाँले भन्नु भयो, ९८ प्रकारका औषधि पाउँछ भन्छन्, तर, अस्पताल आउँदा केही पाउन सक्ने अवस्था छैन् ।

शैल्यशिखर नगरपालिका स्वास्थ्य संयोजक शिवदत्त जोशीका अनुसार अस्पतालमा विग्रिएका उपकरण बारे आफू जानकार भएको बताउनु भयो । हामीले उपकरण मर्मतको लागि प्रयास गरिरहेका छौँ । प्रयाप्त बजेट अभावले पनि समयमै काम गर्न नसकिएको तर स्वास्थ्य संस्थाहरुमा भने औषधि अभाव नभएको उहाँको दाबी छ ।

शैल्यशिखर नगरपालिकाभरी एक अस्पताल सहित २२ ओटा स्वास्थ्य संस्था छन् । गोकुलेश्वर अस्पतालको स्तरोन्नति तथा प्रभावकारी सञ्चालनको लागि अन्य स्थानीय तहसँग पनि समन्वय भइरहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘एउटै स्थानीय तहले सञ्चालन गर्न सक्ने अवस्था छैन् । सबैको लागि पायक पर्ने ठाउँमा रहेको अस्पताल हुँदा स्रोतमा समन्वय भइरहेको छ ।’

शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिह धामीले अस्पताललाई प्रदेश सरकार मातहत सञ्चानल गर्न आवश्यक रहेको बताउनु भयो  । बजेट स्रोत प्रयाप्त छैन् । आन्तरिक स्रोत छैन् । ‘हामीसँग भएको श्रोतले स्वास्थ्य हेर्ने कि शिक्षा हेर्ने,’ उहाँले भन्नु भयो, ‘सबै ठाउँमा थोरै थोरै गर्दा पनि बजेट पु¥याउन सकिने अवस्था छैन् ।’

अन्य

भिडियो