जयपृथ्वी नगरपालिका–११ चोट्केपातलमा खानेपानीको समस्या हुँदा यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । बर्षायाममा गाउँ नजिकै पानीका मुहानहरु हुने भए पनि हिउँद सुरु भएपछि पानीका मुहान सुक्ने भएका कारण यस क्षेत्रका स्थानीयहरुले हिँउदको समयमा पानीको सास्ती खेप्नुपरेको हो ।
हरेक वर्ष खानेपानीको समस्या भोग्नुपरेको भए पनि स्थानीय सरकार तथा सरोकारवाला पक्षहरुले कुनै प्रकारको सहयोग र चाँसो नदिएको स्थानीयहरुको आरोप छ ।
खानेपानीको समस्या उत्पन्न भएपछि एक घण्टाको पैदल यात्रा गरेर पानी ल्याउनुपर्ने बाध्यता रहेको र पानी आउने एउटै मात्रै धारा भएकाले घण्टौँसम्म पानी भर्न पालो कुर्नु पर्ने बाध्यता रहेको स्थानीय जनक धामीले दुखेसो पोख्नु भयो ।
खानेपानीको अभाव भएपछि चोट्केपातलका १५ घरपरिवारलाई खाना पकाउन, सरसफाई गर्न तथा पशुचौपायालाई पानी खुवान एक घण्टा हिडेर पानी बोकेर ल्याउनु पर्ने बाध्यता छ ।

खानेपानीका लागि आफूहरुले पटकपटक नगरपालिका र वडाकार्यालयमा माग गर्दै निवेदन दिएको भए पनि आश्वासन वाहेक कसैबाट पनि केही सहयोग नपाएको स्थानीयहरुको आरोप छ ।
गाउँमा खानेपानीको सुविधा नहुँदा घरको एक जनाले खानेपानीका लागि खटिनु पर्ने बाध्यता रहेको स्थानीय जुनकिरी धामीले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘पानीको ग्यालिन बोक्दा–बोक्दा टाउँको खुइलिसक्यो । तर, हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनु परेको छ । गाउँमा खानेपानीको अभाव हुँदा यहाँका महिलाहरूले बढी समस्या भोग्नु परेको छ ।’
यहाँका अधिकांस परिवारको पानीको जोहो गर्ने जिम्मेवारी महिलाको हुने भएकाले पानीको व्यवस्था गर्न महिलाहरूलाई बढी समस्या हुने गरेको जयपृथ्वी नगरपालिका–११ की झल्लादेवी धामीले बताउनु भयो ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सर्जनबहादुर थापाले आफू निर्वाचित भएको पहिलो वर्षमा नै वडाकार्यालयबाट खानेपानी समस्या समाधानका लागि २ लाख रुपियाँ बजेट विनियोजन गरी तीन क्वाइल पाइप उपलब्ध गराएको बताउनु भयो ।
खानेपानी समस्या भयो भनेर स्थानीयहरुले वडाकार्यालयमा जानकारी नगराएको र खानेपानी समस्या भएको भए समाधान गर्न पहल गर्ने वडाध्यक्ष थापाले बताउनु भयो ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ पिउने पानी तथा सरसफाइमा पहुँचको हक हुने स्पष्ट व्यवस्था गरिएको भए पनि स्थानीयबासीहरु वर्षौदेखि पिउने पानी पाउनबाट वञ्चित छन् ।