निर्वाचन आयोगले ०८१ वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र न.२ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चैत २६ गते प्रकाशन गरेको उम्मेदवारहरूको सूचीमा महिला उम्मेदवारको सङ्ख्या शून्य देखिएको छ ।
इलाम क्षेत्र न.२ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले चैत २६ गते प्रकाशन गरेको उम्मेदवारको नामावली सूचीमा महिला उम्मेदवारको सङ्ख्या शून्य छ ।
उपनिर्वाचनका लागि चैत २४ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १२ ओटा दलका १२ जना र स्वतन्त्र आठ जना गरी २० जना उम्मेद्वारले मनोनयन दर्ता गराउँदा महिलाको सङ्ख्या शून्य देखिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो ।
संविधानको धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’ भनि उल्लेख गरिएको भएपनि इलाम निर्वाचन क्षेत्र न.२ का लागि हुने निर्वाचनमा कुनै पनि राजनीतिक दलद्वारा सो व्यवस्था कार्यान्वयन भएको पाइएको छैन ।
ठूला राजनीतिक दलहरूको उम्मेद्वार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीहरूले गुनासो छ । ‘महिलालाई सँधैपछि पार्ने चलन छ ।’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेद्वार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।’
अधिकारकर्मी भीमा शिवाकोटीले पुस्तकमा महिलालाई समेटिएपनि व्यवहारमा अगाडि बढ्ने अवसर नदिने प्रचलन खराब भएको बताउनुभयो । ‘इलाममा एउटा पदका लागि २० जनाले नेतृत्व तहमा आउन चाहँदा महिलाले नचाहेको होइन, महिलाहरूलाई कसैले अवसर नदिएको समस्या उजागर भएको छ ।’ शिवाकोटीले भन्नुभयो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ चुनावी लड्दैछन् । सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेद्वारी दिनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बूलाई उम्मेद्वार बनाएको छ । पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जीतबहादुर राई उम्मेद्वार हुनुहुन्छ ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत यस अघि नै तोकिसकेको छ । इलाम निर्वाचन क्षेत्र न. २ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहने छन् । यी केन्द्रमा ८ सय ९४ जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारलाई चुनाव चिह्न दिएको छ । चैत २८ देखि ०८१ वैशाख १२ प्रचारको अवधि तोकिएको छ । ०८१ वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ ।
इलाम निर्वाचन क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको ०८० भदौ २६ गते निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।


